यी हुन् नेपालविरुद्ध खेल्ने जिम्बाब्वेको टोलीमा रहेका ८ अनुभवी खेलाडी

Image

काठमाडौं ।

जिम्बाब्वे ‘ए’ को टिम केही दिनभित्र नेपालसँग एकदिवसीय र टी–२० श्रृंखला खेल्न नेपाल आउँदैछ । नेपालसँगको सिरिजको लागि जिम्बाब्वेले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । जिम्बाब्वेको टिममा आठ खेलाडी राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

जोङ्वे ल्यूक, काइआ इनोसेन्ट, काइआ रोए, मारूमानी ताडिवानाशे, माभुता ब्रेन्डन, मुनयोङ्गा टोनी, मुतोम्बाड्जी तिनोटेन्डा र एनयाउची भिक्टरले अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । काम्पबेल जोनाथन, इभान्स ब्राडली, जिवान्डु ट्रेभर, मडन्डे क्लिभ, मासारा जोन, माउन्जे कुडजाइ र तीसिगा ताफाड्वासँग भने राष्ट्रिय टिमबाट खेलेको अनुभव छैन ।

बलर जोङ्वे ल्यूकले जिम्बाब्वेको राष्ट्रिय टिमबाट एक टेस्ट, २८ एकदिवसीय र २२ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । जिम्वाबेको यू–१९ टिमबाट खेलेपछि काइआ इनोसेले स्कटल्याण्डसँग एक टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । मध्यक्रमका ब्याटर काइआ रोए इनोसेन्सका दाइ हुन् । उनले जिम्बावेबाट तीन टेस्ट र एक एकदिवसीय खेल खेलेका छन् ।

मरुमानी ताडिवानाशे शीर्षक्रमका ब्याटर हुन् । उनले जिम्बाब्वेबाट तीन एकदिवसीय र ११ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । माभुता ब्रेन्डन अलराण्डर हुन् । उनले तीन प्रारूपबाट राष्ट्रिय टिमबाट खेलिसकेका छन् । उनले दुई टेस्ट, सात एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

मुनयोङ्गा टोनी पनि अलराउन्डर हुन् । उनले जिब्बाब्वेका लागि पाँच टी–२० खेलेका छन् । उनले बंगलादेशविरुद्ध पनि खेलिसकेका छन् । मुतोम्बाड्जी तिनोटेन्डाले जिम्बाब्वेका लागि एक टेस्ट, १४ एकदिवसीय र १५ टी–२० खेलेका छन् । उनले पहिलो श्रेणीमा ३५ सय रन र लिस्ट ‘ए’ मा १७ सय रन बनाइसकेका छन् ।

पहिलो श्रेणीको क्रिकेटमा उनले ५ शतक र १२ अर्धशतक प्रहार गरेका छन् भने १६१ विकेट लिएका छन् । उनी जिम्बाब्वे ‘ए’ टिममा रहेका सबैभन्दा अनुभवी खेलाडी हुन् । २९ वर्षीय तीव्र गतिका बलर एनयाउची भिक्टरसँग जिम्बाब्वेबाट ६ टेस्ट खेलेको अनुभव छ ।

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको सिरिज १७ वैशाखदेखि सुरु भएर २६ वैशाखमा सकिनेछ । सिरिजको पहिलो एकदिवसीय १७ वैशाखमा हुनेछ । त्यसपछि १९ गते दोस्रो र २१ गते तेस्रो एकदिवसीय खेल हुनेछ । टी–२० सिरिज २३ वैशाखमा सुरु हुने तालिका छ । टी–२० खेलहरू २३, २४ र २६ वैशाखमा हुनेछन् ।