काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई २२३ रनको लक्ष्य दिएको छ । जारी सिजनमा कुनै पनि टिमले दिएको यो विशाल लक्ष्य हो । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२२ रन बनायो ।
उसका लागि प्रारम्भिक ब्याटर जोस बटलरले शतकीय पारी खेले । उनले ६५ बलमा बलमा ९ छक्का र ९ चौकासहित ११६ रन बनाए । बटलरको यो लगातार दोस्रो र जारी सिजनमा तेस्रो शतक हो । उनले अघिल्लो खेलमा कोलकाताविरुद्ध ६१ बलमा १०३ रन बनाएका थिए ।
योसँगै बटलरले कीर्तिमान बनाएका छन् । उनले आईपीएलमा राजस्थानका लागि सर्वाधिक शतक बनाउने रेकर्ड बनाएका हुन् । आईपीएल इतिहासमा बटलरको यो चौथो शतक हो ।
त्यस्तै, दिल्लीस्विरुद्ध देवदत्त पाडिक्कलले ३५ बलमा सात चौका र दुई छक्कासहित ५४ रनको योगदान दिए । कप्तान सञ्जु सामसनले १९ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ४६ रन बनाए । दिल्लीका लागि खलिल अहमद र मुस्तफिजुर रहमानले एक/एक विकेट लिए ।
जारी सिजनमा राजस्थानले ६ म्याच खेल्दा चारमा जित र दुई खेलमा हार बेहोरेको छ । ऊ अंक तालिकामा तेस्रो स्थानमा छ । दिल्लीले ६ म्याचमध्ये तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको छैटौँ स्थानमा छ ।