अम्पायरले ‘नो बल’ नदिएपछि पन्तले जब आफ्ना खेलाडीलाई क्रिज छोड्न भने…

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स १५ रनले पराजित भयो । राजस्थानले दिएको २२३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर २०७ रन बनायो ।

उसका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २४ बलमा चार चौका र दुई छक्का प्रहार गरे । पृथ्वी शा र ललित यादवले ३७/३७, डेविड वार्नरले २८ र शार्दुल ठाकुरले १० रन जोडे । रोभम्यान पावेलले १५ बलमा पाँच छक्कासहित ३६ रनको आक्रामक पारी खेले ।

पन्तले जब खेलाडीलाई मैदानबाट फर्कन भने…

अन्तिम ओभरमा दिल्लीलाई जितको लागि ३६ रनको आवश्यकता थियो । यो ओभरको सुरुआती तीन बलमा रोभम्यान पावेलले लगातार तीन छक्का हिर्काए । लगातारको छक्कासँगै खेल रोमाञ्चक बन्यो । तर, तेस्रो बलमा अम्पायर चुके । नो बल हुँदा पनि अम्यारले सही निर्णय नदिएको भन्दै खेल केही बेर रोकियो ।

डकआउटमा बसेका दिल्लीका कप्तान ऋषभ पन्तसहित केही खेलाडी आक्रोशित देखिए । अम्पायरको निर्णयमा असन्तुष्टि जनाएका पन्तले क्रिजमा रहेका पावेल र कुलदीप यादवलाई ३ बलर नखेलेरै फर्कन भनेका थिए । केही बेरको विवादपछि खेल भने फेरि सुरु भयो । अन्तिम तीन बलमा दिल्लीले एक विकेट गुमाएर २ रन मात्र बनायो ।

राजस्थानका लागि प्रसिद्ध कृष्णाले तीन, रविचन्द्रन आश्विनले दुई, ओबेद म्याक्यो र युजवेन्द्र चहलले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२२ रन बनायो ।

उसका लागि प्रारम्भिक ब्याटर जोस बटलरले शतकीय पारी खेले । उनले ६५ बलमा बलमा ९ छक्का र ९ चौकासहित ११६ रन बनाए । बटलरको यो लगातार दोस्रो र जारी सिजनमा तेस्रो शतक हो । उनले अघिल्लो खेलमा कोलकाताविरुद्ध ६१ बलमा १०३ रन बनाएका थिए ।

योसँगै बटलरले कीर्तिमान बनाएका छन् । उनले आईपीएलमा राजस्थानका लागि सर्वाधिक शतक बनाउने रेकर्ड बनाएका हुन् । आईपीएल इतिहासमा बटलरको यो चौथो शतक हो । त्यस्तै, दिल्लीस्विरुद्ध देवदत्त पाडिक्कलले ३५ बलमा सात चौका र दुई छक्कासहित ५४ रनको योगदान दिए ।

कप्तान सञ्जु सामसनले १९ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ४५ रन बनाए । दिल्लीका लागि खलिल अहमद र मुस्तफिजुर रहमानले एक/एक विकेट लिए । आजको जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले सात म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ । दिल्लीले सात म्याच खेल्दा चारमा हार र तीन खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा छ ।