धिवेही प्रिमियर लिगमा माजियाको अर्को शानदार जित, किरणको उत्कृष्ट प्रदर्शन जारी

Image

काठमाडौं ।

माल्दिभ्समा जारी धिवेही प्रिमियर लिग फुटबलमा माजिया स्पोर्ट्स एण्ड रिक्रियशनले अर्को शानदार जित हात पारेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङ सम्मिलित माजियाले गएराति सम्पन्न खेलमा डा ग्राण्डविरुद्ध ५–० को जित हात पारेको हो ।

माजियालाई जित दिलाउन, नैज हसन,कर्ताल नेमन्जा, मोहम्मद हेम्जा, कर्लिनस स्टिवार्ट र असदुल्ला अब्दुल्लाले एक/एक गोल गरे । खेलको चौथो मिनेटमा हसनको गोलमार्फत माजियाले अग्रता लिएको थियो ।

२२ औं मिनेटमा नेमन्जाले टोलीको अग्रता दोब्बर बनाए । ३४ औं मिनेटमा हेम्जा र ४० औं मिनेटमा स्टिवार्टले गोल गरेपछि माजियाले पहिलो हाफमा ४–० को आरामदायी अग्रता बनाएको थियो ।

८० औं मिनेटमा अब्दुल्लाले गोल गर्दै माजियालाई ५–० को फराकिलो जित दिलाए । यो खेलमा पनि किरणको प्रदर्शन उत्कृष्ट रह्यो । उनले केही उत्कृष्ट प्रहारलाई रोक्न सफल भए । अघिल्लो खेलमा माजियाले १३–० को जित निकालेको थियो ।

सो खेलमा पनि किरणले शानदार प्रदर्शन गरेका थिए । १० म्याच सकिँदा उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । जितसँगै १० खेलमा २७ अंक जोडेको माजिया शीर्ष स्थानमा कायम रहेको छ । पराजित ग्राण्ड समान खेलबाट एक अंकका साथ पुछारमा छ ।