करणले खेले अर्को विस्फोटक पारी, ३५ बलमा बनाए ९१ रन

Image
फाइल तस्बिर

काठमाडौं ।

राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर करण केसीले काँकडभिट्टामा जारी रसोई झापा सुपर लिग क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका छन् । बोस्टर्न ब्लास्टरबाट लिग खेलिरहेका उनले शुक्रबार भद्रपुरविरुद्ध पनि आक्रामक ब्याटिङ गरेका हुन् ।

करणले यो खेलमा ३५ बलमा १३ छक्का र एक चौकासहित ९१ रनको आक्रामक पारी खेले । यो जारी प्रतियोगितामा कुनै पनि ब्याटरले बनाएको उच्च स्कोर हो । यही लिगमा करणले विराट वारियर्सविरुद्ध ४१ बलमा १० छक्का र तीन चौकासहित ८२ रनको पारी पनि खेलिसकेका छन् ।

करणकै शानदार ब्याटिङमा बोस्टर्न लिगको फाइनलमासमेत पुगेको छ । अब उसले उपाधिको लागि फाइनलमा धुलाबारी टाइगरको सामना गर्नेछ । लिगको फाइनल आइतबार हुनेछ । चार खेलमा तीन जित निकालेको धुलाबारी ६ अंकसाथ फाइनलमा पुग्यो ।

विराट, बोस्टर्न र सनराइजको ४/४ अंक थियो । तर, नेट रनरेटका आधारमा बोस्टर्न फाइनल पुगेको हो । २ अंक मात्रै जोडेको भद्रपुर समूहको पुछारमा छ । शनिबार पहिलो खेलमा धुलाबारीले सनराइज काँकडभिट्टालाई २ विकेट र दोस्रो खेलमा बोस्टर्नले भद्रपुर राइजिङ किङलाई ७ विकेटले पराजित गरे ।

काँकडभिट्टा मावि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको सनराइजले १९.१ ओभरमा सबै विकेट गुमाई धुलाबारीलार्य १ सय ५४ रनको लक्ष्य दियो । उसका लागि पवन सर्राफले ३७, भूपाल दंगालले ३३ र फिर्दोज अन्सारीले १७ रन बनाए । धुलाबारीका ज्ञानेन्द्र श्रेष्ठले चार, दीपेश कँडेल र मुकुन्द यादवले तीन/तीन विकेट झारे ।

१ सय ५५ रनको लक्ष्य धुलाबारीले ८ विकेट गुमाएर भेट्टायो । उसका मुकुन्द यादवले अविजित ५५ रन बनाए । डम्बर विष्टले २५ र विवेक बुढाथोकीले १७ रन जोडे । फिर्दोज अन्सारीले चार र आयुष नेउपानेले दुई विकेट लिए ।

बोस्टर्न र भद्रपुरबीचको दोस्रो खेल रोमाञ्चक भयो । टस हारेर ब्याटिङ गरेको भद्रपुरले ९ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि श्रवण यादवले ४६, पूर्वराष्ट्रिय खेलाडी मञ्जित श्रेष्ठले ३१ र महबुब आलमले २० रन बनाए । बोस्टर्नका लागि मिनास थापाले तीन, करण केसीले दुई तथा सुनील आचार्य र राहुल पाठकले एक/एक विकेट झारे ।

१५७ रनको लक्ष्य बोस्टर्नले ११.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । बोस्टर्नको जितमा ३५ बलमा ९१ रन बनाएका करण प्लेयर अफ द म्याच बने । विधान गोश्वामीले ४९ रन बनाए । भद्रपुरका श्रवण यादवले दुई र सुजन घिमिरेले एक विकेट लिए ।