यी हुन् दिल्लीविरुद्ध बटलरले बनाएका कीर्तिमान, तोड्न सक्लान् विराटको रेकर्ड?

Image

काठमाडौं ।

राजस्थान रोयल्सबाट १५ औं सिजनको आईपीएल खेलिरहेका जोस बटलरले गएराति दिल्ली क्यापिटल्सविरुद्ध शतकीय पारी खेले । उनले यो खेलमा ६५ बलमा ९ चौका र ९ छक्काको मद्दतमा ११६ रनको पारी खेले । जारी सिजनमा बटलरको यो लगातार दोस्रो र समग्रमा तेस्रो शतक हो ।

आईपीएल इतिहासकै कुरा गर्दा चाहिँ बटलरको यो चौथो शतक हो । योसँगै उनी आईपीएलको एकै सिजनमा तीन शतक बनाउने पहिलो विदेशी खेलाडीसमेत बनेका छन् । साथै, उनले राजस्थानका लागि चार शतक बनाउने रेकर्ड पनि बनाएका छन् ।

उनले देवदत्त पाडिक्कलसँग राजस्थानका लागि सबैभन्दा ठूलो ओपनिङ साझेदारी पनि गरे । १३ वर्षअघि २००९ मा ग्रीम स्मिथ र नमन ओझाले तत्कालिन किङ्स इलाभेन पञ्जाबविरुद्ध पहिलो विकेटका लागि १३५ रनको साझेदारी गरेका थिए । अब उनीहरूको रेकर्ड बटलर र पाडिक्कलले १ सय ५५ रनको साझेदारी गर्दै तोडेका छन् ।

विराटको रेकर्ड बराबर गर्न एक कदम टाढा बटलर

बटलर एक सिजनमा सबैभन्दा धेरै शतक बनाउने सूचीमा विराट कोहलीभन्दा एक शतक पछि छन् । आईपीएलको एउटै सिजनमा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान कोहलीको नाममा छ । उनले २०१६ को सिजनमा चार शतक बनाएका थिए ।

यदि बटलरले अर्को शतक बनाए भने उनले विराटको कीर्तिमान बराबरी गर्नेछन् । विराट र बटलरपछि क्रिस गेल (२०११), हसिम अमला (२०१७), शेन वाट्सन (२०१८) र शिखर धवन (२०२०) ले एक सिजनमा दुई–दुई शतक बनाएका छन् ।