काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीचको खेलमा भएको एउटा विवाद अहिले चर्चामा छ । अम्पायरले नो बलमा फ्रि हिट नदिएपछि विवाद चर्चामा रहेको हो ।
‘खेल भावना’ विपरीत दिल्लीका कप्तान ऋषभ पन्तले व्यवहार गरेपछि विवादले थप उग्ररूप लिएको हो । अम्पायरले फ्रि हिट नदिएपछि पन्तले आफ्नो खेलाडीलाई क्रिजबाट बाहिर आउन भनेका थिए । राजस्थानका तीव्र गतिका बलर ओबेद म्याकोय अन्तिम ओभरमा महँगा सावित भइरहेका थिए ।
दिल्लीलाई जितका लागि अन्तिम ओभरमा ३६ रन आवश्यक थियो । पावेलले पहिलो तीन बलमा तीन छक्का प्रहार गर्दै टोलीकाे आशा जगाए । तेस्रो बल फुल टस थियो । र, दिल्लीका सबै खेलाडीले नो बल भएको संकेत गरे । तर, अम्पायरले भने नो बल दिएनन् । अम्पायरले नो बल नदिएपछि पन्त आक्रोशित भए ।
उनले आफ्ना खेलाडीलाई फिर्ता आउन पनि पटकपटक संकेत गरे । त्यही क्रममा दिल्लीका सहायक प्रशिक्षक अम्पायरसँग कुरा गर्न मैदानभित्र पसे । दिल्लीको यो निर्णय उचित नभएको भनेर धेरैले प्रतिक्रिया दिएका छन् । यसैबीच, दिल्ली टिमका सहायक प्रशिक्षक शेन वाट्सनले पनि पन्तले देखाएको व्यवहारबारे प्रतिक्रिया दिएका छन् ।
‘अन्तिम ओभरमा जे भयो त्यो निकै निराशाजनक थियो । दिल्ली क्यापिटल्सले यसलाई समर्थन गर्दैन । त्यो सही होस् वा गलत, हामीले स्वीकार गर्नुपर्छ । कोही मैदानभित्र पस्यो भने ठीक होइन,’ वाट्सनले भनेका छन् । यो विवाद बढेपछि उनले कप्तान पन्तलाई पनि सम्झाएका छन् ।
त्यसकामा वाट्सन पन्तप्रति केही आक्रोशित पनि थिए । अहिले वाट्सनले पन्तलाई सम्झाइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तनावपूर्ण अवस्थामा अन्त्य भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हरायो ।
योसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाएर २२२ रन बनाएको थियो । जवाफमा दिल्लीले ८ विकेट गुमाएर २०७ रन मात्र बनायो ।