काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को ३५ औं खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई १५७ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनायो ।
उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा चार चौका र दुई छक्कासहित ६७ रन बनाए । योसँगै हार्दिक गुजरातका लागि एकै सिजनमा लगातार तीन अर्धशतकीय पारी खेल्ने रेकर्ड बनाएका छन् ।
त्यस्तै, डेविड मिलरले २७, ऋद्धिमान साहले २६ र राहुल तेवटियाले १७ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा कोलकाताका लागि आन्द्रे रसेल र टिम साउथीले उत्कृष्ट प्रदर्शन गरे । रसेलले एक ओभरमा ५ रन दिएर ४ विकेट लिए ।
योसँगै उनले आईपीएलमा इतिहास रचेका छन् । रसेलले अन्तिम ओभरमा चार विकेट बलर बन्दै इतिहास रचेका हुन् । उनलाई अन्तिम ओभरमा ह्याट्रिक लिने मौका थियो । तर, त्यसमा भने रसेल चुके ।
त्यस्तै, साउथीले ४ ओेभरमा २४ रन दिएर ३ विकेट हात पारे । शिवम् मावी र उमेश यादवले एक/एक विकेट बाँडे । जारी लिगमा गुजरातले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा मात्र हार बेहोरेको छ । कोलकाताले सात म्याच खेल्दा चारमा हार र तीन खेलमा जित प्राप्त गरेको छ ।

















