यी हुन् छक्का हिर्काउँदै आफ्नो टिमलाई जित दिलाउने ८ खेलाडी

Image

काठमाडौं ।

विश्व क्रिकेटमा आईपीएललाई सर्वाधिक लोकप्रिय लिगको रूपमा हेरिन्छ । भारतमा दर्शकको संख्या बढी भएकाले पनि आईपीएल लोकप्रिय बन्न पुगेको हो । हरेक सिजन झैं यसपटक पनि दर्शकले रोमाञ्चक खेल र चौका/छक्काको वर्षा हेर्न पाइरहेका छन् ।

आईपीएल इतिहासमा अहिले धेरै खेलमा ब्याटरले छक्का प्रहार गर्दै खेल जिताएको पनि देखेका छौँ । यसैबीच, आज जारी सिजनमा छक्का हिर्काउँदै टिमलाई जित दिलाउने ब्याटरको चर्चा गर्दैछौं :

जारी आईपीएल संस्करणको ३६ औं खेलमा सनराइजर्स हैदरावादका ब्याटर राहुल त्रिपाठीले छक्का प्रहार गरी टोलीलाई जित दिलाए । गएराति भएको खेलमा उनले रोयल च्यालेन्जर्स बैंग्लोरले दिएको ६९ रनको लक्ष्य पछ्याउने क्रममा आठौँ ओभरको अन्तिम बलमा छक्का हिर्काएर म्याच सकाएका थिए । केकेआरका आन्द्रे रसेलले पनि आठौँ म्याचमा पञ्जाब किंग्सविरुद्ध छक्का हिर्काउँदै खेल जिताएका थिए ।

आरसिबीका हर्षल पटेलले १३ औँ खेलमा राजस्थान रोयल्सविरुद्ध छक्का हिर्काउँदै खेल जिताए । केकेआरका प्याट कमिन्सले मुम्बई इन्डियन्स यो उपलब्धि हासिल गरे । लखनउका आयुष बदोनीले दिल्ली क्यापिटल्सविरुद्ध छक्का प्रहार गर्दै खेल जिताए ।

राहुल तेवाटियाले पञ्जाब किंग्सविरुद्ध छक्का हिर्काएर गुजरातलाई खेल जिताए । हैदराबादका निकोलस पूरनले पनि जारी सिजनमा गुजरात टाइटन्सविरुद्ध छक्का हिर्काउँदै खेल समाप्त गरिसकेका छन् ।

हैदराबादका एडन मार्कमले २५ औँ खेलमा केकेआरविरुद्ध छक्का प्रहार गर्दै खेल जिताए । उनले नै २९ औं म्याचमा पञ्जाब किंग्सविरुद्ध छक्का हिर्काउँदै खेल जिताउन सफल भए ।