काठमाडौं ।
भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा लखनउले मुम्बई इण्डियन्सलाई १६९ रनको लक्ष्य दिएको छ । मुम्बईको वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।
उसका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले । उनले ६२ बलमा १२ चौका र चार छक्कासहित अविजित १०३ रन बनाए । आइपिएल इतिहासमा राहुलको यो चौथो र जारी सिजनमा दोस्रो शतक हो । योसँगै उनले इतिहास रचेका छन् ।
राहुलले मुम्बईविरुद्ध सर्वाधिक शतक बनाउने ब्याटर बन्दै इतिहास रचेका हुन् । हालसम्म उनले मुम्बईविरुद्ध तीन शतक बनाएका छन् । राहुलले केही दिनअघि पनि मुम्बईविरुद्ध शतकीय पारी खेलेका थिए ।
त्यस्तै, मनिष पाण्डेले २२, आयुष बदोनीले १४, क्विन्टन डिकक र दीपक हूडाले १०/१० रनको योगदान दिए । मुम्बईका किरण पोलार्ड, रिलि मेरिडिथले दुई/दुई, जसप्रित बुमराह र डानियल साम्सले एक/एक विकेट लिए ।
जारी लिगमा लखनउले सात म्याच खेल्दा चारमा जित र तीन खेलमा हार बेहोरेको छ । ऊ आठ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ । पुछारमा रहेको मुम्बई भने अंकविहीन छ । उसले सात म्याच खेल्दा जितको खाता खोल्न सकेको छैन ।