इंग्ल्याण्डमा चम्किँदै चेतेश्वर पुजारा, दोहोरोपछि फेरि बनाए अर्को शतक

Image

काठमाडौं ।

भारतीय टेष्ट टिमका महत्वपूर्ण ब्याटर चेतेश्वर पुजारा अहिले इंग्ल्याण्डमा छन् । उनी त्यहाँ काउन्टी क्रिकेट खेलिरहेका छन् । पछिल्लो समय भारतीय टिमबाट बाहिर रहेका र आईपीएल अक्सनमा बिक्री नभएका पुजाराले काउन्टी क्रिकेटमा भने शानदार प्रदर्शन गरिरहेका छन् ।

उनले सुरुको दुई खेलमा उत्कृष्ट खेलेका हुन् । पुजाराले पहिलो खेलमा डर्बीशायरविरुद्ध दोहोरो शतक बनाएर खेल ड्र गर्न ठूलो भूमिका खेलेका थिए । दोस्रो खेलमा उनले शतक बनाएका छन् । यद्यपि, शतक बनाएको खेलमा उनको टिम भने वर्सेस्टरशायरसँग पराजित हुन पुग्यो ।

ससेक्सबाट प्रतियोगिता खेलिरहेका उनले पहिलो इनिङ्समा लगातार विकेट पतनका बाबजुद २०६ बलमा १६ चौकाको मद्दतले १०९ रन बनाए । यसका बाबजुद उनको टिमले २६९ रन मात्रै बनाउन सक्यो । वर्सेस्टरशायरको पहिलो इनिङ्समा ४९१ रनको आधारमा टोलीले फलोअन खेल्नु परेको थियो ।

पुजाराले दोस्रो इनिङ्समा भने ससेक्सका लागि ठूलो इनिङ खेल्न सकेनन् । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । जसकारण ससेक्स एक इनिङ्स र ३४ रनले पराजित हुन पुग्यो ।

पुजाराको टोलीमा परेका पाकिस्तानका मोहम्मद रिजवानले पहिलो इनिङ्समा खाता नखोली नै आउट भए । दोस्रो इनिङ्समा उनले ४ रनको मात्र योगदान दिन सके । यसअघि ससेक्सका लागि डेब्यु गरेका पुजाराले डर्बीशायरविरुद्ध आफ्नो पहिलो इनिङ्समा १५ बलमा ६ रन बनाएर आउट भएका थिए ।

डर्बीशायरको ५०५ रनको जवाफमा उनको टोली ५६.३ ओभरमा १७४ रनमा सीमित भयो । तर, पुजाराले दोस्रो इनिङ्समा उत्कृष्ट प्रदर्शन गर्दै ३८७ बलमा अविजित २०१ रन बनाए । उनले इनिङ्समा २३ चौका प्रहार गरेका थिए ।