आईपीएलमा मुम्बईको लगातार आठौँ हार, लखनउको जितपछि यस्तो बन्यो अंक तालिका

Image

काठमाडौं ।

मुम्बई इण्डियन्स भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध ३६ रनले पराजित भएसँगै ऊ प्लेअफ दौडबाट बाहिरिएको हो । जारी सिजनमा मुम्बईको यो लगातार आठौँ हार हो ।

आफ्नो आठौँ खेलमा लखनउले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान रोहित शर्माले ३९, तिलक वर्माले ३८ र किरण पोलार्डले १९ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउका लागि कृणाल पाण्ड्याले तीन, रवि विश्नोई, आयुष बदोनी, जेसन होल्डर र मोहसिन खानले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । उसका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले । उनले ६२ बलमा १२ चौका र चार छक्कासहित अविजित १०३ रन बनाए ।

आइपिएल इतिहासमा राहुलको यो चौथो र जारी सिजनमा दोस्रो शतक हो । योसँगै उनले इतिहास रचेका छन् । राहुलले मुम्बईविरुद्ध सर्वाधिक शतक बनाउने ब्याटर बन्दै इतिहास रचेका हुन् ।

हालसम्म उनले मुम्बईविरुद्ध तीन शतक बनाएका छन् । राहुलले केही दिनअघि पनि मुम्बईविरुद्ध शतकीय पारी खेलेका थिए । त्यस्तै, मनिष पाण्डेले २२, आयुष बदोनीले १४, क्विन्टन डिकक र दीपक हूडाले १०/१० रनको योगदान दिए ।

मुम्बईका लागि किरण पोलार्ड, रिलि मेरिडिथले दुई/दुई, जसप्रित बुमराह र डानियल साम्सले एक/एक विकेट लिए । यो जितसँगै लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले आठ म्याच खेल्दा पाँचमा जित र तीन खेलमा हार बेहोरेको छ । पुछारमा रहेको मुम्बई भने अंकविहीन छ । लखनउसँगको हारसँगै प्लेअफ पुग्ने गणितीय सम्भावना पनि समाप्त भएको छ ।

मुम्बई र लखनउबीचको खेलपछि अंक तालिका :