कपिलवस्तु ।
अन्तर्राष्ट्रिय क्रिकेटर फैजल खाँले कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले नेकपा एकीकृत समाजवादीबाट पकडीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । भैसकुण्डास्थित घरबाट उनी समर्थक नेता/कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न पुगेका थिए ।
उम्मेदवारी दर्तापछि २९ बर्से क्रिकेटर खाँले क्रिकेटमा जसरी नै राजनीतिमा पनि राम्रो काम गरेर नाम राख्ने बताए । ‘नयाँ योजना र उद्देश्यले काममा लाग्छु, यो नै मेरो जितको आधार हो,’ उनले भने । मायादेवी गाउँपालिका–२ का खाँ यू–१९ का अन्तर्राष्ट्रिय खेलाडी हुन् ।
सन् २०११ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका उनी सन् २०१६ सम्म नेपालको प्रतिनिधित्व गर्दै विभिन्न ६ मुलुकमा गएर खेलका थिए । गत २०७४ मंसिरमा सम्पन्न प्रदेशसभा सदस्यमा पनि उनले चुनाव लडेका थिए । यद्यपि त्यो बेला उनी पराजित हुन पुगे ।