काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को ३८ औं खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्स (सिएसके) लाई १८८ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनायो ।
उसका लागि शिखर धवनले उत्कृष्ट पारी खेले । उनले ५९ बलमा नौ चौका र दुई छक्कासहित अविजित ८८ रन बनाए । त्यस्तै, भानुका राजापाक्षेले ४२, लियाम लिभिङस्टोनले १९ र मयंक अग्रवालले १८ रनको योगदान दिए । चेन्नईका लागि ड्वेन ब्रावोले दुई र महेश थिक्क्षणाले एक विकेट लिए ।
धवनले हासिल गरे नयाँ उपलब्धि
पञ्जाब किंग्सबाट आईपीएल खेलिरहेका ब्याटर शिखर धवनले चेन्नईविरुद्ध केही उपलब्धि हासिल गरेका छन् । उनले आईपीएलमा ६ हजार र टी–२० क्रिकेटमा ९ हजार रन पूरा गर्दै उपलब्धि हासिल गरेका हुन् । शिखर आईपीएलमा ६ हजार रन पूरा गर्ने दोस्रो ब्याटर बने ।
उनले २०२ म्याचमा आईपीएलमा ६ हजार रन पूरा गरेका हुन् । आईपीएलमा सर्वाधिक रन बनाउने रेकर्ड विराट कोहलीको नाममा छ । उनले हालसम्म आईपीएलमा २१५ म्याचमा ६ हजार ४०२ रन बनाएका छन् ।
त्यस्तै, धवन टी–२० क्रिकेटमा ९ हजार रन पूरा गर्ने तेस्रो भारतीय ब्याटरको उपलब्धि पनि हासिल गरेका छन् । उनीभन्दा अगाडि विराट (१०३९२) र रोहित शर्मा (१००४८) छन् ।