काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले पाँचौं हार बेहोरेको छ । पाँचौं हार बेहोर्ने क्रममा ऊ गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध २९ रनले पराजित भएको हो ।
बैंग्लोरको यो लगातार दोस्रो हार हो । ऊ अघिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध ९ विकेटले पराजित भएको थियो । आफ्नो नवौँ खेलमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान फाफ डुप्लेसिसले सर्वाधिक २३ रन जोडे । वानिन्दु हसरंगा १८, शाहबाज अहमद १७ र रजित पाटिदार १६ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानविरुद्ध पनि पूर्वकप्तान विराट कोहलीको ब्याट शान्त रह्यो ।
अघिल्लो दुई खेलमा लगातार शून्यमै आउट भएका उनले राजस्थानविरुद्ध १० बलमा केवल ९ रन मात्र जोड्न सके । त्यस्तै, टिमका महत्वपूर्ण ब्याटर ग्लेन म्याक्सवेल शून्यमै पवेलिएन फर्किए । राजस्थानका लागि कुलदीप सेनले ३.३ ओभरमा २० रन दिएर ४ विकेट लिए ।
रविचन्द्रन आश्विनले तीन र प्रसिद्ध कृष्णाले दुई विकेट हात पारे । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा खेल्दै ८ विकेटको क्षतिमा १४४ रन बनायो ।
उसका लागि युवा ब्याटर रियान परागले उत्कृष्ट पारी खेले । उनले ३१ बलमा चार छक्का र तीन चौकासहित अविजित ५६ रन बनाए । कप्तान सञ्जु सामसनले २७, रविचन्द्रन आश्विनले १७ र डारियल मिचेलले १६ रन जोडे । बैंग्लोरका लागि मोहम्मद सिराज, जोस हेजलउड र वानिन्दु हसरंगाले दुई/दुई विकेट लिए ।
यो जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आठ म्याच खेल्दा ६ मा जित र दुई खेलमा हार बेहोरेको राजस्थानले १२ अंक जोडेको छ । बैंग्लोर तालिकाको पाँचौँ स्थानमा छ । उसले नौं म्याचमा पाँचमा जित र चार खेलमा हार बेहोरेको छ ।
बैंग्लोर र राजस्थानको खेलपछि अंक तालिका :