काठमाडौं ।
भारतमा अहिले १५ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) जारी छ । लिगको ३९ खेल सकिसकेका छन् । पर्पल क्याप दौड अर्थात् सर्वाधिक विकेट लिने बलरको शीर्षमा राजस्थान रोयल्सका स्पिनर युजवेन्द्र चहल छन् ।
लामो समय रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) बाट आइपिएल खेलेका उनी यसपालिदेखि भने राजस्थानबाट खेलिरहेका हुन् । टोलीको जितमा हलले महत्वपूर्ण योगदान दिइरहेका छन् । उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा पनि शीर्ष स्थानमा छन् ।
चहलले आठ म्याच खेल्दा १८ विकेट हात पारिसकेका छन् । १२.६१ औसत र ७.०९ को इकोनोमी रहेका उनले हालसम्म ३२ ओभर बलिङ गर्दा २२७ रन खर्चिएका छन् । ४० रन दिएर ५ विकेट लिनु चहलको उत्कृष्ट प्रदर्शन हो । समूह चरणकै ६ खेल बाँकी रहेकाले यसपालि उनले नै पर्पल क्याप जित्ने सम्भावना बलियो छ ।
टि नटराजन (सनराइजर्स हैदराबाद) : सुरुवाती दुई खेल गुमाए पनि पछिल्लो पाँच खेलमा जित हात पार्दै लयमा फर्किएको हैदराबादका लागि तीव्र गतिका बलर टि नटराजनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सात खेलमा १५ विकेट हात पार्दै पर्पल क्याप दौडको दोस्रो स्थानमा रहेका नटराजनको औसत १४.५३ र इकोनोमी ८.०७ छ । हालसम्म २७ ओभर बलिङ गरेका उनले २१८ रन खर्चिएका छन् । १० रन दिएर तीन विकेट हात पार्नु नटराजनको उत्कृष्ट प्रदर्शन हो ।
ड्वेन ब्राभो (चेन्नई सुपर किंग्स) : चारपटकको आइपिएल विजेता चेन्नई जारी सिजनमा खराब लयमा छ । आठ खेल खेल्दा उसले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । टोलीको प्रदर्शन सम्झनलायक नरहे पनि तीव्र गतिका बलर ड्वेन ब्राभोले भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका ब्राभोले आठ खेलमा १४ विकेट लिएका छन् । १८.५० को औसत तथा ८.७३ को इकोनोमी रहेका ब्राभोले हालसम्म २९.४ ओभर बलिङ गर्दा २५९ रन खर्चिएका छन् । २० रन दिएर तीन विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो ।
वानिन्दु हसरंगा (रोयल च्यालेन्जर्स बैंग्लोर) : जारी सिजनमा बैंग्लोरका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका स्पिनर वानिन्दु हसरंगाले ९ खेलबाट १३ विकेट हात पारेका छन् । पर्पल क्याप दौडको चौथो स्थानमा रहेका उनको औसत १८.८४ र इकोनोमी ८.१६ छ । हालसम्म ३० ओभर बलिङ गर्दा २४५ रन खर्चिएका उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर चार विकेट हात पार्नु हो ।
कुलदीप यादव (दिल्ली क्यापिट्ल्स) : दिल्लीले जारी सिजनका मध्यम प्रदर्शन गरिरहेको भएपनि स्पिनर कुलदीप यादव भने गज्जबको लयमा देखिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौंमा रहेका उनले सात खेलबाट १३ विकेट हात पारेका छन् ।
उनको औसत १७.३८ र इकोनोमी ८.४७ छ । हालसम्म २६.४ ओभर बलिङ गर्दा २२६ रन खर्चिएका कुलदीपको उत्कृष्ट प्रदर्शन ३५ रन दिएर चार विकेट हात पार्नु हो ।
त्यस्तै, छैटौं स्थानमा खलिल अहमद (११), सातौँ स्थानमा आवेश खान (११), आठौँमा उमेश यादव (११), नवौंमा जोस हेजलउड (१०) र १० औं स्थानमा आन्द्रे रसेल (१० विकेट) रहेका छन् ।
३९ म्याच सकिँदा यी हुन् सर्वाधिक विकेट लिने १० बलर :