काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको क्लब एभिनिएरविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ । हाल नेपालमै प्रशिक्षण गरिरहेको नेपालले यही १६ वैशाखमा क्लब एभिनिएरविरुद्ध खेल्न लागेको हो ।
क्लब एभिनिएरले आज आफ्नो सामाजिक फेसबुक पेजमार्फत नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको जनाएको हो । एभिनिर एफसी र नेपालबीचको खेल साँझ ५ बजे फ्लड लाईटमा खेलाइने छ । एन्फाबाट भने यसबारे आधिकारिक जानकारी आउन बाँकी छ ।
अल्मुताइरी आएपछि डेब्यू गर्ने १२ खेलाडी
अब्दुल्लाह अलमुताइरीले एक वर्षभित्र १२ खेलाडीलाई डेब्यु गराएका छन् । त्यसमा उनले टोली सम्हालेको पहिलो खेलमा इराकविरुद्ध गौतम श्रेष्ठ र मनिष डाँगीलाई डेब्यु गराए । कुवेतमा भएको विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा उनले कमल थापा, आयुष घलान र सुरज ज्यू ठकुरीलाई डेब्युको मौका दिए ।
यसैगरी नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङले भारतविरुद्ध दशरथ रंगशालामै भएको मैत्रीपूर्ण खेलमा डेब्यु गरे । नयाँ खेलाडीलाई डेब्यु गराउँदै एक्सपोजर र अनुभव बटुल्ने मौका दिएका अलमुताइरीले माघमा मोरिससविरुद्ध पहिलो खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढा मगर तथा दोस्रो खेलमा नविन गुरुङलाई डेब्युको मौका दिए । चैतमा थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलमा प्रशान्त अवस्थीले पनि डेब्यु गरे ।