हैदराबादले दियो गुजरातलाई विशाल लक्ष्य, सन्दीपसँगै डेब्यू गरेका शर्माले बनाए सर्वाधिक रन

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई १९६ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनायो ।

उसका लागि ओपनर अभिषेक शर्मा र एडन मार्कमले उत्कृष्ट पारी खेले । अभिषेकले ४२ बलमा ६ चौका र दुई छक्कासहित ६५ रन बनाए । त्यस्तै, मार्कमले ४० बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ५६ रनको योगदान दिए । राहुल त्रिपाठी १६ रनमा आउट भए ।

शशांक सिंहले उत्कृष्ट फिनिसिङ गरे । उनले ६ बलमा तीन छक्का र एक चौकासहित अविजित २५ रन बनाए । शशांकले अन्तिम ओभरको अन्तिम बलमा लकी फर्गुसनको बलमा लगातार तीन छक्का हिर्काए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

गुजरातका लागि मोहम्मद शामीले तीन, अल्जारी जोसेफ र यस दयालले एक/एक विकेट लिए । गुजरातका स्टार बलर राशिद खान भने महँगा सावित भए । उनले चार ओभरमा बिनाविकेट ४५ रन खर्चिए । त्यसक्रममा राशिदले तीन छक्का र दुई चौका दिए ।

फर्गुसन पनि महँगा सावित भए । उनले ४ ओभरमा बिनाविकेट ५२ रन दिए । जारी लिगमा गुजरातले सात म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ । हैदराबादले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । हैदराबादले पछिल्लो पाँच खेलमा लगातार जित हात पारेको छ ।

अभिषेक र सन्दीपले सँगै गरेका थिए आईपीएल डेब्यू

अभिषेक शर्मा र नेपाली लेगस्पिनर सन्दीप लामिछानेले एकै म्याचमा आईपीएल डेब्यू गरेका थिए । यी दुई युवा खेलाडीले २०१८ को सिजनमा तत्कालिन दिल्ली डेयर डेविल्सबाट खेल्दै आईपीएल डेब्यू गरेका थिए ।

सन्दीप र अभिषेकले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध खेल्दै आईपीएल डेब्यू गरेका थिए । दुवै खेलाडीको आईपीएल डेब्यू उत्कृष्ट रहेको थियो । डेब्यू म्याचमा अभिषेकले १९ बलमा चार छक्का र तीन चौकासहित अविजित ४६ रन बनाएका थिए ।

त्यस्तै, सन्दीपले चार ओभरमा २५ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । उनले डेब्यू म्याचमा विकेटकीपर/ब्याट्सम्यान पार्थिव पटेलको विकेट लिएका थिए । सो म्याचमा सन्दीप सबैभन्दा किफायती बलर सावित भएका थिए । अभिषेक र सन्दीपका लागि उत्कृष्ट रहेको सो म्याचमा आरसीबी ५ विकेटले विजयी भएको थियो ।