काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध दिल्ली क्यापिटल्स ४ विकेटले विजयी भएको छ । जारी संस्करणमा दिल्लीको यो चौथो जित हो । उसले आठ म्याच खेल्दा चार खेलमा भने हार बेहोरेको छ ।
आफ्नो आठौँ खेलमा कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि डेविड वार्नर र रोभम्यान पावेलले उत्कृष्ट ब्याटिङ गरे । वार्नरले २६ बलमा आठ चौकासहित ४२ रन बनाए ।
पावेलले १६ बलमा तीन छक्का र एक चौकाको सहयोगमा अविजित ३३ रन जोडे । अक्षर पटेल २४, ललित यादव २२ र मिचेल मार्श १३ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
कोलकाताका लागि उमेश यादवले चार ओभरमा २४ रन दिएर सर्वाधिक चार विकेट लिए । हर्षित राणा र सुनिल नारायणले एक/एक विकेट हात पारे । त्यसअघि, मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो ।
उसका लागि नीतिश राणाले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा तीन चौका र चार छक्कासहित ५७ रनको योगदान दिए । त्यस्तै, कप्तान श्रेयस अय्यरले ४२ र रिंकु सिंहले २३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
दिल्लीका लागि कुलदीप यादवले ४ ओभरमा १४ रन दिएर ४ विकेट लिए । त्यस्तै, मुस्तफिजुर रहमानले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे । अक्षर पटेल र चेतन सकारियाले एक/एक विकेट बाँडे ।
यो जितसँगै दिल्ली आठ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । कोलकाता ६ अंकका साथ आठौँ स्थानमा छ । उसले ९ म्याच खेल्दा तीन खेलमा मात्र जित हात पार्न सकेको छ ।
दिल्लीको चौथो जितपछि यस्तो बन्यो अंक तालिका :