काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुवुदु दासानायकेले जिम्बाबे ‘ए’ टिमसँगको शृंखला आसन्न अमेरिका भ्रमणअघि नेपाल टिमका लागि उत्कृष्ट अवसर भएको बताएका छन् । टेष्ट मान्यताप्राप्त जिम्बाबेको ‘ए’ टिमले नेपालसँग शनिबारदेखि तीन एकदिवशीय र त्यसपछि तीन ट्वान्टी–२० शृंखला खेल्दैछ ।
यो शृंखलालाई आगामी जुनमा हुने आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृंखलाअघिको तयारीका रुपमा नेपालले लिएको छ । ‘अबको १० महिना हामी धेरै व्यस्त हुनेछौं । लिग टूमा २४ खेल बाँकी छ । हामी त्यसअघि युवा खेलाडीलाई एक्स्पोजर बढाएर स्तरीय क्रिकेट खेल्न चाहन्छौं,’ शृंखलाअघि आज पत्रकार सम्मेलनमा प्रशिक्षक दासानायकेले भने ।
उनले अगाडि थपे, ‘आसन्न शृंखलाका लागि टिम सेट थर्न यू–१९ का खेलाडीहरु पनि समावेश गरेका छौं । यो शृंखला दुवै टिमका लागि नयाँ अनुभवसमेत हो ।’ प्रशिक्षक दासानायकेले यो शृंखला युवाका लागि अवसर भएको र ब्याटिङ सुधारमा केन्द्रित रहने बताए ।
कप्तान सन्दीप लामिछानेले टेष्ट राष्ट्रको ‘ए’ टिमसँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् । ‘हामी तयार छौं । यसअघि पपुवा न्युगिनी र मलेसियासँगको शृंखलामा हामीले धेरै प्रयोग गरेका थियौं । अब अमेरिकाको शृंखलाका लागि टिम तयार गर्न केन्द्रित हुनेछौं,’ उनले भने ।
नेपाल र जिम्बाब्वेबीचको पहिलो खेल बिहान ९ः३० देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिम पहिलो खेलर जितेर सुखद सुरुवात गर्न चाहन्छन् । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जिम्बाब्वेलाई स्तब्ध पार्ने योजनामा छ ।