नेपाल र जिम्बाब्वेबीचको खेल आज, यस्तो छ सम्भावित पेइङ–११

Image

काठमाडौं ।

एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज जिम्बाब्वे ‘ए’ विरुद्ध खेल्दैछ । नेपाल र जिम्बाब्वेबीचको खेल साढे ९ देखिपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिम पहिलो खेल जितेर सुखद सुरुवात गर्न चाहन्छन् ।

नेपालले आईसीसी विश्वकप लिग–२ को तयारी स्वरूप जिब्बाब्वे ‘ए’ सँग तीन खेलको सिरिज खेल्न लागेको हो । अन्तर्राष्ट्रिय मान्यता नहुँदा यो सिरिजलाई अभ्यास खेल मात्र मानिनेछ । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जिम्बाब्वेलाई स्तब्ध पार्ने योजनामा छ ।

हालसम्म नेपालको सिनियर टिमले जिम्बाब्वेविरुद्ध जित हात पारेको विगत छैन । नेपालले तीन वर्षअघि सिंगापुरमा जिम्बाब्वेविरुद्ध खेलेको थियो । जहाँ नेपालले दुवै खेल पराजित भएको थियो । आज नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

यता जिम्बाब्वे पनि नेपाललाई दबाबमा राख्दै शानदार जित हात पार्न चाहन्छ । उसको टिममा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका खेलाडी छन् । तडिवानासे मरुमणि, टिना टेन्डा मुटोम्बोड्जी, मभुता ब्रेन्डन, न्याउची भिक्टर, ल्यूक जोंगवे, रोय किला र काइया इनोसेन्ट जिब्बाब्वे ‘ए’ टिमका मुख्य खेलाडी हुन् । उनीहरूले सिनियर टोलीबाट पनि खेलिसकेका छन् । समग्रमा जिम्बाब्वेले ‘ए’ टिम पठाए पनि नेपालका लागि यो टोली पनि बाधक बन्न सक्छ ।

यद्यपि पछिल्लो समय ठिकठाक लयमा रहेको नेपालले पनि जिम्बाब्वेविरुद्ध आफ्नो लय कायमै राख्ने सम्भावना छ । नेपाल र जिम्बाब्वे ‘ए’बीचको खेल टेलिभिजनमा याक्सन स्पोर्ट्स एचडी वान र युट्युबमा ओएसआर डिजिटलबाट हेर्न सकिनेछ ।

जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, देव खनाल/आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, विनोद भण्डारी, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र सुशन भारी ।