काठमाडौं ।
एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज जिम्बाब्वे ‘ए’ विरुद्ध खेल्दैछ । नेपाल र जिम्बाब्वेबीचको खेल साढे ९ देखिपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिम पहिलो खेल जितेर सुखद सुरुवात गर्न चाहन्छन् ।
यद्यपि आज मौसमले साथ दिने सम्भावना कम छ । बिहानैदेखि काठमाडौंको मौसम खराब छ । वर्षा नभए पनि आकाशमा बादल छ । बिहान साढे ८ बजेसम्म मौसम बदलीका कारण काठमाडौं अध्याँरो छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेश, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसमले साथ दिएमा आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जिम्बाब्वेलाई स्तब्ध पार्ने योजनामा छ । हालसम्म नेपालको सिनियर टिमले जिम्बाब्वेविरुद्ध जित हात पारेको विगत छैन । नेपालले तीन वर्षअघि सिंगापुरमा जिम्बाब्वेविरुद्ध खेलेको थियो । जहाँ नेपालले दुवै खेल पराजित भएको थियो ।
आज नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । यता जिम्बाब्वे पनि नेपाललाई दबाबमा राख्दै शानदार जित हात पार्न चाहन्छ । उसको टिममा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका खेलाडी छन् ।
तडिवानासे मरुमणि, टिना टेन्डा मुटोम्बोड्जी, मभुता ब्रेन्डन, न्याउची भिक्टर, ल्यूक जोंगवे, रोय किला र काइया इनोसेन्ट जिब्बाब्वे ‘ए’ टिमका मुख्य खेलाडी हुन् । उनीहरूले सिनियर टोलीबाट पनि खेलिसकेका छन् ।
समग्रमा जिम्बाब्वेले ‘ए’ टिम पठाए पनि नेपालका लागि यो टोली पनि बाधक बन्न सक्छ । यद्यपि पछिल्लो समय ठिकठाक लयमा रहेको नेपालले पनि जिम्बाब्वेविरुद्ध आफ्नो लय कायमै राख्ने सम्भावना छ । नेपाल र जिम्बाब्वे ‘ए’बीचको खेल टेलिभिजनमा याक्सन स्पोर्ट्स एचडी वान र युट्युबमा ओएसआर डिजिटलबाट हेर्न सकिनेछ ।
जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, देव खनाल/आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, विनोद भण्डारी, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र सुशन भारी ।