काठमाडौं ।
भारतीय क्रिकेटर चेतेश्वर पुजाराले इंग्ल्याण्डको काउन्टी च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । ससेक्सका लागि खेलिरहेका उनले शुक्रबार डरहमविरुद्धको खेलमा पनि शतकीय पारी खेले । तीन खेलमा लगातार शतक बनाउने क्रममा पुजाराले डरहमविरुद्ध १६२ बलमा १६ चौकाको मद्दतमा अविजित १२८ रन बनाएका छन् ।
ससेक्सले पहिलो पारीमा उत्कृष्ट ब्याटिङ गरेको छ । ऊ खेलको दोस्रो दिनको समाप्तिमा ३६२/५ को अवस्थामा छ । यो अवस्थामा पुजाराले पाकिस्तानी ब्याटर मोहम्मद रिजवानसँग मिलेर खेलिरहेका छन् । १३ बलको सामना गरेका रिजवान ५ रनमा अविजित छन् ।
पुजाराले पहिलो खेलमा दोहोरो शतक बनाएका थिए । उनी काउन्टी च्याम्पियनसिपमा दोहोरो शतक बनाउने दोस्रो भारतीय खेलाडी हुन् । यसअघि मोहम्मद अजहरुद्दिनले काउन्टी क्रिकेटमा दोहोरो शतक बनाएका थिए । पुजाराले दोस्रो खेलमा पनि शतकीय पारी खेलेका थिए ।
आईपीएलको मेगा अक्स्नमा उनलाई कुनै पनि टोलीले अनुबन्ध गरेका थिएनन् । त्यसपछि उनले रणजी ट्रफीमा केही खेल खेले । त्यहाँ पुजाराको प्रदर्शन सोचेअनुरूप रहन सकेन । त्यसपछि उनले इङ्ल्यान्ड गएर काउन्टी च्याम्पियनसिप खेल्ने निर्णय गरे ।
यो वर्ष भारतीय टोलीले इंग्ल्याण्डमा टेष्ट सिरिज खेल्दैछ । काउन्टी क्रिकेटमा लगातार शानदार प्रदर्शन गरिरहेका पुजाराले भारतीय टिममा कमब्याक गर्ने वातावरण बनाइरहेका छन् । दक्षिण अफ्रिका भ्रमणमा खराब प्रदर्शन गरेपछि उनलाई टेस्ट टोलीबाट बाहिर राखिएको थियो ।
श्रीलंकाविरुद्धको दुई टेष्टको घरेलु शृङ्खलामा पनि पुजारा समावेश भएनन् । अब आफ्नो बलियो ब्याटिङका साथ उनले फेरि एकपटक भारतीय टिममा आफ्नो दाबी गरेका छन् ।