अम्पायरले नट आउट दिँदा पनि डिकक आफैंले छोडे क्रिज, उनले देखाएको खेल भावनाको हुँदैछ प्रशंसा

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सका विकेटकिपर/ब्याटर क्विन्टन डिककले महत्वपूर्ण पारी खेले । उनले पञ्जाब किंग्सविरुद्धको खेलमा ३७ बलमा चार चौका र दुई छक्कासहिथ ४७ रन बनाए ।

टिमका लागि सर्वाधिक रन बनाएका डिकक १३.४ ओभरमा आउट भए । उनी सन्दीप शर्माको बलमा आउट भएका हुन् । डिककले गरेको प्रहार पञ्जाबका विकेटकिपरले जितेश शर्मा समाते । उनले आउटको अपिल गरे । तर, अम्पायरले आउट दिएनन् । यद्यपि, डिकक भने खेल भावानाको सम्मान गर्दै आफैँ पवेलिएन तिर लागे ।

डिककको प्रहार आउटसाइड एज लागेको थियो । अर्धशतकको नजिक हुँदा पनि आफैं पवेलिएन फर्किएपछि अहिले सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ । पञ्जाबलाई २० रनले हराएसँगै लखनउ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

छैटौं जित निकालेको लखनउले नौ खेलमा १२ अंक जोडेको छ । पाँचौं हार बेहोरेको पञ्जाब नौ खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ । आफ्नो नवौं खेलमा १५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

उसका लागि जोनी बेयरिस्टोले ३२, कप्तान मयंक अग्रवालले २५, ऋषि धवनले अविजित २१, र लियाम लिभिङस्टोनले १८ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउका लागि मोहसिन खानले ४ ओभरमा एक मेडनसहित २४ रन दिएर तीन विकेट लिए । दुश्मन्था चामिरा र कृणाल पाण्ड्याले दुई/दुई र रवी बिश्नोईले एक विकेट हात पारे ।

त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसियसन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनायो । उसका लागि क्विन्टन डिककले ३७ बलमा चार चौका र एक छक्कासहित ४६ रन बनाए ।

त्यस्तै, दीपक हूडाले ३४, दुश्मन्था चामिराले १७ र मोहसिन खानले अविजित १३ रनको योगदान दिए । पञ्जाबका लागि कागिसो रबाडाले ४ ओभरमा ३८ रन दिएर चार विकेट लिए । राहुल चाहरले दुई तथा सन्दीप शर्माले एक विकेट लिए । पञ्जाबले एक विकेट भने रनआउटको रूपमा प्राप्त गर्‍यो ।