बैंग्लोरमाथि गुजरातको फराकिलो जित, तेवटिया आज पनि बने जितको ‘हिरो’

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले आठौं जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई ६ विकेटले हराउँदै गुजरातले लिगमा आठौँ जित हात पारेको हो । उसले नौं खेलमा एक म्याचमा मात्र हार बेहोरेको छ ।

आजको जितसँगै गुजरातले प्लेअफको स्थान लगभग पक्का गरेको छ । आफ्नो नवौं खेलमा आरसिबीले दिएको १७१ रनको लक्ष्य गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि राहुल तेवटिया र डेविड मिलरले उत्कृष्ट ब्याटिङ गरे ।

तेवटियाले २५ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ४३ रन बनाए । मिलरले २४ बलमा चार चौका र एक छक्काको सहयोगमा नटआउट ३९ रनको योगदान दिए । उनीहरूले पाँचौं विकेटका लागि ६.४ ओभरमा ७९ रनको साझेदारी गरे । शुभमन गिल ३१, ऋद्धिमान साह २९, साइ सुदर्शन २० र कप्तान हार्दिक पाण्ड्या तीन रनमा आउट भए ।

आरसिबीका शहबाज अहमद र वानिन्दु हसरंगाले दुई/दुई विकेट लिए । त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको आरसिबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । उसका लागि विराट कोहली र जित पाटिदारले अर्धशतकीय पारी खेले । कोहलीले ५३ बलमा ६ चौका र एक छक्कासहित ५८ तथा पाटिदारले ३२ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५२ रन बनाए ।

विराटले १४ पारीपछि आईपीएलमा अर्धशतक बनाएका हुन् । ग्लेन म्याक्सवेलले १८ बलमा तीन चौका र दुई छक्कासहित ३३ रनको उत्कृष्ट पारी खेले । महिपाल लोमरले आठ बलमा एक छक्का र दुई चौकाको मद्दतमा १६ रन बनाए । शहबाज अहमद दुई रनमा अविजित रहे ।

गुजरातका लागि प्रदीप सांगवानले दुई, राशिद खान, अल्जारी जोसेफ, लकी फर्गुसन र मोहम्मद शामीले एक/एक विकेट लिए । जारी लिगमा आरसिबीको यो पाँचौं हार हो । उसले १० म्याच खेल्दा पाँच खेलमा जित हात पारेको छ । ऊ अंक तालिकाको पाँचौं स्थानमा छ । गुजरात भने शीर्षमा छ ।

आरसिबी र गुजरातको म्याचपछि यस्तो बन्यो अंक तालिका :