काठमाडौं ।
आईपीएल २०२२ मा खराब प्रदर्शन गरेपछि चेन्नई सुपर किंग्स (सिएसके) का कप्तान रवीन्द्र जडेजाले पद त्याग गरेका छन् । उनले महेन्द्र सिंह धोनीलाई टोलीको कप्तानी सुम्पेका हुन् । चेन्नईले ८ खेल खेलेर २ खेल मात्रै जित्न सकेको छ । अब बाँकी खेलमा एकपटक फेरि धोनी कप्तानीमा देखिनेछन् ।
चेन्नईले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, जडेजाले आफ्नो खेलमा बढी ध्यान केन्द्रित गर्न कप्तानी छोड्ने निर्णय गरेका हुन् । उनले सामान्यतया आईपीएलमा राम्रो प्रदर्शन गर्थे । तर, कप्तानको दबाबमा यसपालि उनको प्रदर्शन कमजोर रह्यो । यस्तो अवस्थामा जडेजाको आलोचना भइरहेको थियो । तर, उनले यति ठूलो निर्णय लिन सक्छन् भन्नेमा कसैले विश्वास गरेका थिएनन् ।
चौथोपटक चेन्नईको कप्तान परिवर्तन
जडेजाको कप्तानी छोडेपछि धोनीले दोस्रोपटक टोलीको कप्तानी सम्हाल्नेछन् । ३३ वर्षीय जडेजा सन् २०१२ देखि चेन्नई टोलीमा छन् । मार्च २४ मा अचानक धोनीले उनलाई कप्तानी सुम्पने घोषणा गरे । त्यसपछि जडेजा चेन्नईकाे तेस्रो कप्तान बने ।
आईपीएलको पहिलो सिजन अर्थात् २००८ देखि नै महेन्द्र सिंह धोनी टोलीको नेतृत्व गर्दै आएका थिए । २१३ खेलमा कप्तानी गर्दा धोनीले १३० खेलमा टिमलाई जित दिलाएका छन् । यसबीचमा सुरेश रैनाले ६ खेलमा कप्तानी समेत गरेका छन्, जसमध्ये टोलीले २ खेल मात्र जितेको छ ।
४० वर्षीय धोनी २००८ देखि चेन्नईको कप्तान छन् र यो उनको अन्तिम आईपीएल हुन सक्छ। उनले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।