भारतीय बलरमाथि बटलरको हमला, चार बलमा हिर्काए चार छक्का

Image

काठमाडौं ।

स्टार इंग्लिश ब्याटर जोस बटलरले चार बलमा चार छक्का हिर्काएका छन् । उनले भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध चार बलमा लगातार चार छक्का हिर्काएका हुन् ।

राजस्थान रोयल्सबाट लिग खेलिरहेका बटलरले यो उपलब्धि ऋतिक शोकीनको ओभरमा हासिल गरे । उनले १६ औं ओभरकाे सुरुवाती चार बलमा लगातार छक्का हिर्काए । सुरुवातमा सुस्त ब्याटिङ गरेका बटलर ऋतिकमाथि भने आक्रामक रूपमा प्रस्त भए ।

यद्यपि उनी यो ओभरको अन्तिम बलमा भने आउट हुन पुगे । बटलरले आज ५२ बलमा चार छक्का र पाँच चौकासहित ६७ रन बनाए । आज भएको पहिलो खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई ६ विकेटले हरायो । गुजरातले लिगमा आठौँ जित हात पारेको हो । उसले नौं खेलमा एक म्याचमा मात्र हार बेहोरेको छ ।

आजको जितसँगै गुजरातले प्लेअफको स्थान लगभग पक्का गरेको छ । आफ्नो नवौ खेलमा आरसिबीले दिएको १७१ रनको लक्ष्य गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि राहुल तेवटिया र डेविड मिलरले उत्कृष्ट ब्याटिङ गरे ।

तेवटियाले २५ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ४३ रन बनाए । मिलरले २४ बलमा चार चौका र एक छक्काको सहयोगमा नटआउट ३९ रनको योगदान दिए । उनीहरूले पाँचौं विकेटका लागि ६.४ ओभरमा ७९ रनको साझेदारी गरे । शुभमन गिल ३१, ऋद्धिमान साह २९, साइ सुदर्शन २० र कप्तान हार्दिक पाण्ड्या तीन रनमा आउट भए ।

त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको आरसिबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । उसका लागि विराट कोहली र जित पाटिदारले अर्धशतकीय पारी खेले । कोहलीले ५३ बलमा ६ चौका र एक छक्कासहित ५८ तथा पाटिदारले ३२ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५२ रन बनाए ।

विराटले १४ पारीपछि आईपीएलमा अर्धशतक बनाएका हुन् । ग्लेन म्याक्सवेलले १८ बलमा तीन चौका र दुई छक्कासहित ३३ रनको उत्कृष्ट पारी खेले । महिपाल लोमरले आठ बलमा एक छक्का र दुई चौकाको मद्दतमा १६ रन बनाए । शहबाज अहमद दुई रनमा अविजित रहे ।

गुजरातका लागि प्रदीप सांगवानले दुई, राशिद खान, अल्जारी जोसेफ, लकी फर्गुसन र मोहम्मद शामीले एक/एक विकेट लिए । जारी लिगमा आरसिबीको यो पाँचौं हार हो । उसले १० म्याच खेल्दा पाँच खेलमा जित हात पारेको छ । ऊ अंक तालिकाको पाँचौं स्थानमा छ । गुजरात भने शीर्षमा छ ।