काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित दर्ता गरेको हो । उसले आठ हारपछि जित हात पार्न सफल भयो ।
आफ्नो नवौं खेलमा राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । उसका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा पाँच चौका र दुई छक्कासहित ५१ रन बनाए । त्यस्तै, तिलक वर्माले ३५, इशान किशनले २६, टिम डेविडले अविजित २० र किरण पोलार्डले १० रनको योगदान दिए ।
डानियल साम्स ६ रनमा अविजित रहँदा कप्तान रोहित शर्मा दुई रनमै आउट भए । राजस्थानका लागि ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, युजवेन्द्र चहल र कुलदीप सेनले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित डिआर डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनायो ।
उसका लागि जोस बटलरले ५२ बलमा चार छक्का र पाँच चौकासहित ६७ रन बनाए । त्यस्तै, रविचन्द्रन आश्विन २१, डारियल मिचेल १७, कप्तान सञ्जु सामसन १६ र देवदत्त पाडिक्कल १५ रनमा आउट भए ।
बुम्बईका लागि रिली मेरिडिथ, ऋतिक शोकीनले दुई/दुई, कुमार कार्तिक्य र डानियल साम्सले एक/एक विकेट लिए । मुम्बईसँगको हारका बाबजुद राजस्थान अंक तालिकाको दोस्रो स्थानमा कायमै छ । उसले ९ म्याच खेल्दा ६ मा जित र तीन खेलमा हार बेहोरेको छ ।