काठमाडौं ।
इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) का नयाँ प्रबन्ध निर्देशक रोब कीले अनुभवी ओपनर एलेक्स हेल्सले टोलीमा कमब्याक गर्ने सम्भावनाबारे प्रतिक्रिया दिएका छन् । हेल्सले गरेको गल्तीको सजाय पाइसकेको र अब उनलाई माफी दिनुपर्ने रोबको भनाइ छ ।
उनी मार्च २०१९ देखि इंग्ल्याण्डको टोलीबाट बाहिर छन् । प्रतिबन्धित औषधि सेवन गरेको भन्दै हेल्सलाई २१ दिन प्रतिबन्ध लगाइएको थियो । एकदिवसीय विश्वकपअघि उनीविरुद्ध यो कारबाही गरिएको थियो । र, त्यसपछि उनी टोलीमा फर्किन सकेका छैनन् ।
हेल्सले विभिन्न टी–२० लिगमा राम्रो प्रदर्शन गरिरहेका छन् । तर, पनि बोर्डले उनलाई टिममा राखिरहेको छैन । उनले टी–२० ब्लास्टमा राम्रो प्रदर्शन गरे । त्यसपछि हेल्सले पाकिस्तान सुपर लिगमा पनि राम्रो खेले । साथै, उनले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा पनि उत्कृष्ट प्रदर्शन गरे । त्यही लयका कारण उनी आईपीएल अक्सनमा पनि बिक्री भएका थिए । यद्यपि हेल्सले अक्सनपछि भने टोलीबाट नाम फिर्ता लिएका थिए ।
द गार्जियनको समाचारअनुसार ईसीबीका नयाँ प्रबन्ध निर्देशक रोबले भनेका छन्, ‘यो निर्णयमा संलग्न व्यक्तिहरूसँग मैले कुरा गर्नुपर्छ। हेल्सलाई चयनको लागि उपलब्ध हुने व्यवस्था गर्नुपर्छ । मेरो अनुमानमा उनले धेरै पीडा भोगिसकेका छन् ।’ इंग्ल्याण्डको टोलीमा जेसन रोय, जोनी बेयरिस्टो, जोस बटलर र डेभिड मलान जस्ता अनुभवी खेलाडी शीर्ष क्रममा छन् । जसका कारण पनि हेल्सले पुनरागमन गर्न सकेका छैनन् ।