जिम्बाब्वेविरुद्ध ब्याटिङ गर्दै नेपाल, यी खेलाडीले पाए प्लेइङ–११ मा मौका

Image

काठमाडौं ।

जिम्बाब्वे ‘ए’ विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल र जिम्बाब्वेबीचको खेल १ बजदेखि त्रिवि मैदानमा सुरु हुँदैछ । नेपालका टिममा बशिर अहमदले डेब्यू गरेका छन् ।

आज दुवै टिम तीन खेलको सिरिजमा जितका साथ सुरुवात गर्न चाहन्छन् । नेपाल र जिम्बाब्वेले टी–२० मा तीन वर्षअघि प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल दुवै खेलमा जिम्बाब्वसँग पराजित हुन पुग्यो । सो सिरिज सिंगापुरमा भएको थियो । यसपालि नेपाललाई घरेलु मैदानमा बदला लिने मौका छ ।

जिम्बाब्वे पनि नेपालविरुद्ध शानदार जित हात पार्न चाहन्छ । उसको टिममा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका खेलाडी छन् । तडिवानासे मरुमणि, टिना टेन्डा मुटोम्बोड्जी, मभुता ब्रेन्डन, न्याउची भिक्टर, ल्यूक जोंगवे, रोय किला र काइया इनोसेन्ट जिब्बाब्वे ‘ए’ टिमका मुख्य खेलाडी हुन् । उनीहरूले सिनियर टोलीबाट पनि खेलिसकेका छन् ।

यद्यपि पछिल्लो समय ठिकठाक प्रदर्शन गरिरहेको नेपालले पनि जिम्बाब्वेविरुद्ध आफ्नो लय कायमै राख्ने सम्भावना छ । नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल टेलिभिजनमा याक्सन स्पोर्ट्स एचडी वान र युट्युबमा ओएसआर डिजिटलबाट हेर्न सकिनेछ ।

नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, कशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद ।