प्रशिक्षक केसीले गरे बंगलादेशसँग खेल्नुअघि यति ठूलो घोषणा

Image

काठमाडौं ।

साफ यू–२० च्याम्पियनसिपअन्तर्गत नेपालले तेस्रो खेलमा नमिठो हार बेहोर्‍यो। आइतबार भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई घरेलु टिम भारतले ८–० गोलले पराजित गर्‍यो। नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वीविरूद्ध बेहोरेको यो ठूलो हार हो।

समूहमा यसअघि लगातार दुई खेलमा जित निकालेको नेपालका लागि फाइनल यात्रा समेत कठिन बनेको छ। अन्तिम खेलअघि शीर्ष स्थानको बंगलादेशको ९ अंक छ। दोस्रो स्थानको भारत र तेस्रो स्थानको नेपालको ६–६ अंक छ। गोलअन्तरमा भने भारत अघि छ। भारतको गोलअन्तर ११ छ भने नेपालको –१ छ।

माल्दिभ्स र श्रीलंका भने फाइनल यात्राबाट बाहिर भइसकेको छन्। अब नेपालले अन्तिम खेलमा भोलि शीर्ष स्थानको बंगलादेशसँग खेल्नेछ। भारतले भोलि नै माल्दिभ्ससँग भिड्नेछ। बंगलादेशलाई फाइनल पुग्न बराबरी भए पुग्छ भने भारत र नेपालका लागि जित आवश्यक छ।

नेपालले जित निकालेको अवस्थामा पनि गोलअन्तरमा बंगलादेशलाई पछि पार्न पर्ने स्थिति छ। बंगलादेशको गोलअन्तर ५ छ। भारत पराजित वा बराबरीमा रोकिएको अवस्थामा भने नेपालले जित निकाले फाइनल पुग्न सक्छ।

यसैक्रममा नेपाली यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गर्न नसकेमा आफूले प्रशिक्षकको पद छोड्ने बताएका छन्। भारतसँगको हारपछि उनले खेलाडीहरू र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन्। उनले बंगलादेशसँगको खेलमा जित निकाल्न नसके आफैं राजीनामा दिने घोषणा गरेका हुन्।

‘सबै जनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा। खेलाडीहरुमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ। सबै हजुरहरुलाई खुशी दिन नसकेकोमा धेरै दुःखी छौ। खेलाडी र एन्फालाई दोष नदिउँ। यो मेरो गल्ती हो। मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ। अन्यथा म पद छोड्ने छु। म फुटबल जीवनबाट अलग हुनेछु। म मेरो फाइदाको लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसीले लेखेका छन्।

भारतसँग फराकिलो हारपछि दुःखी हुदै यस्तो भन्छन् प्रशिक्षक केसी

भारतसँगको फराकिलो हारपछि नेपाली टिमका प्रमुख प्रशिक्षक मेघराज केसीले दु:ख व्यक्त गरेका छन्। ‘टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालई धन्यवाद,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन्।’ उनले अघि लेखेका छन्, ‘आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दु:खी छौं।’

उनले हारको दोष खेलाडीलाई नदिन पनि भनेका छन्। ‘खेलाडी र एन्फालाई दोष नदिनुहोला। यो मेरो गल्ती हो,’ उनको भनाइ छ, ‘अब अर्को खेलका लागि दुई दिनको समय छ। मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन। धन्यवाद।’