अर्जेन्टिना १६ वर्षपछि पुरुष फुटबलको क्वार्टरफाइनलमा

Image

काठमाडौं । अर्जेन्टिनी यू–२३ टोलीले १६ वर्षपछि ओलम्पिकअन्तर्गत पुरुष फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । अर्जेन्टिना मंगलबार भएको खेलमा युक्रेनविरुद्ध २–० को जितसहित क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन थियागो अल्माडा र क्लाउडियो इचेभेरीले गोल गरे ।

४७औँ मिनेटमा अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । यस्तै, इन्जुरी समयमा इचेभेरीले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएपछि हाभियर मास्चेरानोको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले २–० को जित पक्का गरेको हो ।

जितसँगै समूह ‘बी’ बाट अर्जेन्टिना ६ अंकसहित उपविजेता बन्दै क्वार्टरफाइनलमाा प्रवेश गरेको हो । समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको मोरोक्कोले पनि समान ६ अंक नै जोडेको छ । अर्जेन्टिनासँग गोलआधारमा पनि बराबर भएको मोरोक्को हेड टू हेडमा समूह विजेता बनेको हो ।

यस्तै, मंगगलबार नै भएको समूह ‘ए’ को खेलमा जित निकाल्दै फ्रान्स र अमेरिकाले क्वार्टरफाइनल यात्रा तय गरेका छन् । घरेलु टिम फ्रान्सले न्युजिल्यान्डविरुद्ध ३–० को जित निकाल्दा अमेरिकाले पनि गुयनाविरुद्ध ३–० कै जित निकालेको हो ।

समूह चरणका तीन खेलमै अपराजित बनेको फ्रान्स नौ अंकसहित विजेता बनेको हो । यस्तै, समान खेलबाट ६ अंक जोडेको अमेरिकाले उपविजेताको रुपमा नकआउटमा स्थान पक्का गर्यो ।

प्रतियोगिताको समूह ‘सी’ बाट इजिप्टले समूह विजेता र स्पेनले उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाए । यस्तै, समूह ‘डी’ बाट जापान शतप्रतिशत नतिजासहित विजेता र पराग्वे उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।