ग्लोबल टी-२० मा ब्राम्पटनविरुद्ध दीपेन्द्रको उत्कृष्ट प्रदर्शन, सन्दीप महँगो साबित

Image

काठमाडौं । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले क्यानाडामा जारी ग्लोबल ट्वान्टी-२० लिगमा लगातार चौथो पराजय ब्यहोरेको छ ।
भ्यानकुभर सिएए सेन्टमामा बुधबार ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भयो ।

यसअघि भ्यानकुभरले नेसनलसँग आठ विकेट, बंगला टाइगर्ससँग २२ र मोन्ट्रियल टाइगर्ससँग १० रनको हार ब्यहोरेको थियो । जितसँगै ब्राम्पटनले चार खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको भ्यानकुभर अंकविहीन रहेको छ।

दीपेन्द्रको उत्कृष्ट प्रदर्शन

चौथो सिजनको ग्लोबल टी–२० मा ब्राम्पटन वुल्भ्सविरुद्ध भ्यानकुभर नाइट्समा आबद्ध दीपेन्द्रले भने राम्रो प्रदर्शन गरेका छन् । टिमले लगातार चौथो हार बेहोर्नेक्रममा ६ विकेटले पराजित भए पनि दीपेद्रको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रहेको छ । ब्राम्पटनविरुद्ध उनले बलिङ र फिल्डिङमार्फत उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस खेलमा दीपेन्द्रले ब्याटिङमा भने मौका पाएनन् ।

दीपेन्द्रले फिल्डिङमार्फत अस्ट्रेलियन स्टार तथा ब्राम्पटनका कप्तान डेविड वार्नरलाई पाचौं ओभरको अन्तिम बलमा २५ को स्कोरमा रन आउट गरे । यस्तै, बलिङमा दीपेन्द्रले चार ओभरमा बिनाविकेट १८ रन मात्र दिए । उनले आफ्नो पहिलो ओभरमा मात्र एक रन खर्चिए ।

दीपेन्द्रले पावरप्लेमै पहिलो ओभर फाले पनि एक रन मात्र दिएका हुन् । उनले दोस्रो र तेस्रो ओभरमा पाँच/पाँच रन खर्चिए । दीपेन्द्रले चौथो ओभरमा भने ११ रन दिए, जसमा ४ रन बाइको रूपमा समावेश भयो ।

उनले अघिल्लो दुई खेलमा भने बलिङमा मौका पाएका थिएनन् । ती दुई खेलमा दीपेन्द्रले ब्याटिङ भने गरेका थिए । आफ्नो पहिलो खेलमा एक रनमै आउट भएका उनले दोस्रो खेलमा १५ बलमा अविजित ३० रनको इनिङ खेलेका थिए ।

सन्दीप महँगो साबित

यस्तै, नेपाली लेगस्पिनर सन्दीप लामिछाने क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी–२० लिगअन्तर्गत ब्राम्पटन वल्भसविरुद्ध खेलमा महँगो साबित भएका छन् । ब्राम्पटनविरुद्ध सन्दीपले तीन ओभर मात्र बलिङको मौका पाए, जसमा उनले एक विकेट लिएर ३९ रन खर्चिए ।

सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए पनि लय कायम राख्न सकेनन् । उनले उक्त ओभरमा ६ रन दिएर ज्याक जेर्भिसलाई तीन रनमा बोल्ड गरे ।

सन्दीपले दोस्रो ओभरमा एउटा स्टम्पिङको मौका दिए पनि त्यसमा विकेटकिपर चुके । उनले दोस्रो ओभरमा तीन छक्कासहित बिनाविकेट २२ रन खर्चिए । जारी सिजनमा उनले एकै ओभरमा २२ रन खर्चिएको यो पहिलोपटक हो । ब्राम्पटनविरुद्ध तेस्रो ओभरमा सन्दीपले बिनाविकेट ११ रन दिए ।

ग्लोबल टी–२० क्यानडा २०२४ मा उनले चार म्याच खेल्दा ५ विकेट लिएका छन् । सन्दीपले पहिलो र तेस्रोमा एक/एक तथा दोस्रो खेलमा दुई विकेट लिएका थिए ।

हालसम्म सन्दीपले ग्लोबल टी–२० को इतिहासमा २१ खेलमा २८ विकेट लिएका छन् । भ्यानकुभरले अब पाँचौं खेलमा शुक्रबार बिहान सर्रे जग्वार्सको सामना गर्नेछ ।