लिग कपबाट बाहिरियो गत च्याम्पियन मियामी

Image

काठमाडौं । कोलम्बस क्रूसँग पराजित हुँदै इन्टर मियामी लिग कपको अन्तिम १६ बाट बाहिरिएको छ। आज बिहान लोअर डट कम फिल्डमा कोलम्बस क्रूसँग ३–२ को हार बेहोरेसँगै मियामी अन्तिम १६ बाटै बाहिरिएको हो ।

मियामीले खेलमा दुई गोलको अग्रता लिएको थियो। तर, त्यो अग्रता कायम राख्न सकेन। खेलको १०औं मिनेटमै माटियस रोजासले गोल गर्दै मियामीलाई सुरुआती अग्रता दिलाए। उनले डिएगो गोमेजको पासलाई सदुपयोग गरे। लुइस सुआरेजले दिएको पासलाई सदुपयोग गर्दै ६३औं मिनेटमा गोमेजले अर्को गोल थपे।

त्यसपछि कोलम्बसले खेलमा पुनरागमन गर्‍यो। ६७औं मिनेटमा किश्चियन रामिरेजले गोल गर्दै खेल २–१ मा ल्याए। त्यसको ६ मिनेटपछि नै कुचो हर्नान्डेजको पासमा डियागो रोसीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। ८१औं मिनेटमा मोहम्मद फारसीले अर्को गोलको सुवर्ण अवसर दिलाइए। त्यसलाई पनि रोसीले सदुपयोग गरे।

यो हारपछि लगातार दोस्रोपटक लिग कपको उपाधि जित्ने मियामीको उपाधि जित्ने लक्ष्य समाप्त भएको छ । गत संस्करणको लिग कपको फाइनलमा मियामीले न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।