अल्मुताइरी श्रीलंकाको प्रशिक्षकमा नियुक्त

Image

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलंका फुटबल संघले मंगलबार अल्मुताइरीलाई एएफसी छनोटका लागि अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जनायो ।

श्रीलंकाले सेप्टेम्बर ५ र १० मा कम्बोडियाविरुद्ध खेल्दैछ । त्यसका लागि तत्काल प्रशिक्षण सुरु गर्नेछन् । अल्मुताइरी श्रीलंका पुगिसकेका छन् । अल्मुताइरी यसअघि सन् २०२१ देखि २०२२ सम्म नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहेका थिए ।

उनकै प्रशिक्षणमा नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको फाइनल खेलेको थियो । तर, भारतसँग पराजित भयो । नेपाल रहँदा उनी सधै चर्चामा रहे । गुमनाम कुनै पनि समय रहेनन् ।

उनले राष्ट्रिय टोलीका १० खेलाडीलाई बाहिर राखेपछि ठूलो विवाद भयो । नेपाली टिमपछि अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक पनि भएका थिए । तर, त्यहाँ लामो समय रहन सकेनन् ।