एजेन्सी । क्रिस्टियानो रोनाल्डोको अल नासर साउदी प्रो लिगको सुरुवाती खेलमा अल रइदसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गिएको हो।
साउदी कपको फाइनलमा अल–हिलालसँग पराजित भएपछि अल नासर लिगमा राम्रो सुरुवात गर्ने प्रयासमा थियो । पोचुगिज सुपरस्टारले खेलको ३४ औँ मिनेटमा साडियो मानेको क्रसमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
यो वर्ष रोनाल्डोको यो २५ औँ गोल थियो । अब उनी क्लब र देशका लागि ९ सयौँ गोल गर्नबाट मात्र ८ गोल टाढा रहेका छन् । तर, दोस्रो हाफको सुरुवातमा नै एमरिक लापोर्टेले गल्ती गर्दा अल रइदले पेनाल्टी पायो । मोहम्मद फौजाइरले कुनै गल्ती नगरे खेल बराबरी गरे ।
बराबरी गोल गरेपछि अल नासरले विजयी गोलका लागि प्रयास जारी राख्यो । ७५ औँ मिनेटमा रोनाल्डोले पुनः गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उनी मात्र केही मिलिमिटरले अफसाइड रहेको देखाएको थियो । खेलको अन्त्यतिर अल नासरले गरेको पेनाल्टीको अपिल पनि खारेज गरिएको थियो ।















