काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।
माल्दिभ्सको राजधानी मालेमा सोमबार पुलिसले श्रीलंका एयर फोर्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पुलिसले खेल २५-१६, २५-२०, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगिताका तेस्रो खेलमा पुलिसले मंगलबार ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ ।
गत चैत्रमा सम्पन्न आठौं एनभिए महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो । लिग विजेताको हैसियतामा पुलिसले काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो ।















