काठमाडौं। कोशी प्रदेशमाथि गोलको वर्षा गराउँदै विभागीय टोली त्रिभुवन आर्मी एन्फा महिला लिगको तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा उक्लिनेक्रममा आर्मीले मंगलवार कोशी प्रदेशलाई ५–० ले हराएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान २ तथा हिमा चौधरीले १ गोल गरिन् ।आठौं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन् । त्यसको २ मिनेट पछि नै विमलाले अर्को गोल गर्दै अग्रता दोब्बर बनाइन् । हिमाले २१औं मिनेटमा र अनिताले ३८ औं मिनेटमा गोल गर्दा आर्मी पहिलो हाफमा ४–० ले अग्रता बनाएको थियो । अनिताले ६०औं मिनेटमा अर्को गोल गर्दै आर्मीको जित सहज बनााइन् ।
जित पछि आर्मी ६ खेलमा १३ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लब रहेको छ । एपिएफको १६ अंक रहेको छ । समान खेलबाट १० अंक जोड्दै कोशी भने चौथो स्थानमा छ ।
आजै भएको पहिलो खेलमा विभागीय नेपाल एपिएफ क्लबले संकटा क्लबमाथि जित निकाल्दै शीर्ष स्थानलाई थप मजबुत बनेको थियो । छैटौं खेलमा पाँचौ जित निकाल्नेक्रममा एपिएफले मंगलवार संकटामाथि ३–० को जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई जित दिलाउन सरु लिम्बु, अनिता केसी र सविता राना मगरले समान १ गोल गरिन् । संकटा ६ खेलमा ५ अंकमा रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ । पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।















