काठमाडौं । दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले ती खेलको सिरिज एक खेल अगावै जितेको छ ।आइतवार बिहान भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकामाथि सुपर ओभरमा जित हात पारेको हो ।
निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । दुईदेशीय सिरिजमा नेपालले चौथो पटक जितेको हो । यसअघि नेपालले मलेसिया, युएई र केन्यालाई सिरिजमा पराजित गरेको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो । सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए । चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पायो ।
सामान्य लक्ष्यका साथ नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए । अमेरिकाका लागि सौरभ नेत्राभाल्कर बलिङमा आएका थिए । पहिलो बलमा कप्तान पौडेलले १ रन लिएका थिए । दोस्रो बलमा कुशलले १ रन लिए । तेस्रो बलमा कप्तान पौडेलले कुनै रन जोडेनन् । चौथो बलमा कप्तान पौडेलले १ रन लिदै नेपाललाई ऐतिहासिक जित दिलाए ।
त्यसअघि अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो । अमेरिकाले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
अमेरिकाको लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६२ रन बनाए । ओपनर साइटेजा मुक्कामल्लले ४१ बलमा ४७ रनको योगदान गरेका थिए । दुई खेलाडीबीच सतकीय साझेदारी भएको थियो ।
नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे । सोमपाल कामीको नाममा दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए ।
दोस्रो खेलमा नेपालका टस जितेर ब्याटिङ गरेको नेपालको लागि तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेलले ५४ बलमा नट आउट रहँदै सर्वाधिक ९२ रन बनाए । उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।
कुशलले आफ्नो नवौं टि ट्वान्टी अर्धशतक ३३ बलमा पूरा गरेका थिए । कुशलले २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलो पटक टी-२० आईमा अर्धशतक प्रहार गरेका हुन् । कुशलले यसअघि नेदरल्यान्ड्सविरुद्ध ३ तथा मलेसिया, सिंगापुर, ओमान र युएईसँग समान १ अर्धशतक प्रहार गरेका थिए ।
ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउदै नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भए । शाहले २ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झा १२ बलमा १९ रन बनाउदै नोस्तुश केन्जिकेको बलमा कप्तान मोनांक पटेलबाट समातिए । कप्तान रोहित पौडेल १४ बलमा १८ रन बनाउँदै अमेरिकाका कप्तान पटेलबाट समातिए । करण केसी १ बलमा ६ रन बनाउँदै नट आउट रहे ।
अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई विकेट लिए । सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए । तेस्रो तथा अन्तिम टि ट्वान्टी आई खेल सोमबार विहान रहेको छ ।
यो पनि : कुशल भुर्तेल बने ‘प्लेयर अफ द म्याच’