Khabar Board

पाकिस्तानका अलराउण्डर हुसैन तलातले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं । पाकिस्तानका अलराउण्डर हुसैन तलातले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टेष्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको जनाएको छ ।

कर्णाली याक्सले पहिलो विदेशी खेलाडीको रुपमा २८ वर्षीय तलातलाई अनुबन्ध गरेको हो । उनी नेपाल प्रिमियर लिग (एनपिएल)मा अनुबन्ध हुने टेष्ट राष्ट्रको पहिलो खेलाडी बनेका छन् । उनले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । यस्तै १६९ टी-२० खेल खेलेका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध टी २० आईमा डेब्यु गरेका थिए ।

तलातको आगमनले कर्णालीको टिम सन्तुलित र थप मजबुत बन्ने कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले बताए ।

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा नेपाल ए टिमका प्रशिक्षक समेत रहेका ज्ञानेन्द्र मल्ल कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट डिरेक्टर छन् भने राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी मार्की प्लेअर छन् ।

कर्णाली याक्समा मार्की सोमपालसहित राष्ट्रिय टिममा रहेका गुल्सन झा र देव खनाल समेत छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका भुवन कार्की, मौसम ढकाल पनि कर्णालीको टिममा छन् । कर्णालीको अन्य खेलाडीमा नन्दन यादव, रित गौतम, अर्जुन घर्ती मगर, दीपेन्द्र रावत, युनिविक्रम ठकुरी र दीपक डुम्रे छन् ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ गतेसम्म सञ्चालन हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.