Khabar Board

अमेरिकाविरुद्धको टी-२० सिरिजमा नेपालको क्लिन स्विप

आशिफको अर्धशतक, मल्ल र भुर्तेलको शानदार साझेदारी

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । एक खेल अगावै सिरिज उचालेको नेपालले आइतवार भएको अन्तिम खेलमा ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।

नेपालले टी-२० आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी-२० आई सिरिज क्लिन स्विप गरेको थियो ।

नेपालको जितमा ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाए । आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । उनको टी-२० करियरको छैठौं अर्धशतक बनाए लगत्तै जायस ड्रेल्सद्वाराको बलमा आउट भए ।

कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साँझेदारीमा अमेरिकाविरुद्ध नेपालले अन्तिम खेलमा जित निकालेको हो । कुशल मल्लले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ४४ रन बनाए ।  यस सिरिजमा पहिलो पटक मौका पाएका कुशल मल्ल र कुशल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि नट आउट ७४ रनको साझेदारी गरे ।

भुर्तेलले ३२ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । ओपनर अनिलकुमार शाह पहिलो विकेटका रुपमा १३ रन बनाउँदै जसदिप सिंहको बलमा एलबिडब्लु आउट भए । अमेरिका लागि जायस ड्रेल्स र जसदिप सिंहले समान १ विकेट लिए ।

त्यसअघि अमेरिकाको ग्राण्ड प्रेरीमा टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर नेपालविरुद्ध अमेरिकाले १ सय ५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एक एक विकेट लिएका थिए ।

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टी-२० आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यसअघि लिग-२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन् ।

यस सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

यो पनि : सोमपाल कामी बने ‘प्लेयर अफ द सिरिज’

यो पनि : आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.