काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा अलराउण्ड प्रदर्शन गरेका आरिफ शेख प्लेयर अफ द म्याच भएका छन् । डालसस्थित ग्राण्ड प्रेरीमा सोमवार भएको खेलमा स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका आरिफ प्लेयर अफ द म्याच भएका हुन् ।
स्कटल्याण्डविरुद्ध ब्याटिङमा आरिफले ओडिआई करियरको सातौं अर्धशतक पुरा गर्ने क्रममा ४२ बलमा ८ चौकाको सहयोमा नट आउट रहँदै ५१ रन जोडेका थिए । बलिङमा एक विकेट लिएका आरिफले माइकल जोन्सलाई १९ रनमा आउट गराएका थिए । कप्तान रिची बेरिंटन र ब्राड होललाई क्याच आउट गराएका थिए ।
ओडिआई करियरमा उनको यो दोस्रो प्लेयर अफ द म्याच अवार्ड हो । यसअघि सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध उनले पहिलो प्लेयर अफ द म्याच अवार्ड जितेका थिए । स्कटल्यान्डले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग २ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ । नेपालले अव शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।
स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।
यो पनि : विश्वकप लिग-२ मा स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित















