ओमानका पूर्व कप्तान एनपिएल खेल्न नेपाल आइपुगे

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ओमानका अलराउन्डर जिसन मक्सुद नेपाल आइपुगेका छन् । मक्सुलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अनुबन्ध गरेकाे छ ।

बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णालीका मालिक झनकदत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे, हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाललगायतले स्वागत गरेका थिए । उनले ओमानको ७३ टी-२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ३६९ रन बनाउनुका साथै ५१ विकेट लिएका छन् । उनी नेपाली क्रिकेट समर्थका लागि परिचित नाम हुन् ।

उनी नेपाल आइपुग्ने कर्णालीका तेस्रो खेलाडी हुन् । यसअघि बाबर हायत र चाडविक वाल्टन नेपाल आइपुगेका थिए । कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । यसैगरी टोलीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।

कर्णालीले मंसिर १७ गते जनकपुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

एनपिएलमा कर्णाली याक्सको खेलतालिका

मंसिर १७ गते जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर १९ गते काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २१ गते चितवन राइनोजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २२ गते विराटनगर किंग्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २५ गते पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २८ गते लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
पुस १ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे