प्लेअपको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको लुम्बिनी चितवनसंग भिड्दै

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ बजे सुरु हुने पहिलोे खेलमा लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ ।

यो टिम चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

यदि यो खेलमा पराजित भए, लुम्बिनी लिग चरणबाटै बाहिरिनेछ । त्यसैले शीर्ष चारको सम्भावना जीवितै राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ । रोहितको व्यक्तिगत प्रदर्शन राम्रो भए पनि आरिफ शेख, विवेक यादव, सन्दीप जोरा, बेन कटिङ फर्ममा नहुँदा लुम्बिनी संकटमा छ ।

चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।

चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

अघिल्लो खेलमा अपराजित रहेको सुदूरपश्चिम रोयल्सलाई हराएर चितवनको मनोबल झनै उच्च भएको छ । रवि बोपारा, कुशल, हसन इसाखिलले ब्याटबाट योगदान दिइरहँदा सोहेल तन्विर र रिजन ढकालले पेस बलिङको जिम्मेवारी सम्हालेका छन् । चितवन, तालिकाको शीर्ष स्थानमा रहेको जनकपुरसँग अंक बराबरी गर्न चाहन्छ ।