अनिलले एलिट कप पनि गुमाउने

Image

काठमाडौं । मधेश प्रदेश महत्वपुर्ण खेलाडी अनिल शाहले जय ट्रफी मेन्स एलिट कप गुमाउँने भएका छन् । अनिल नेपाल प्रिमियर लिग(एनपिएल) का क्रममा घाइते भएका कारण एलिट कपमा पनि नदेखिने भएका हुन् ।

अनिल घाइते भएका कारण एनपिएलको प्लेअफ तथा फाइनल खेल गुमाएका थिए । यसै वर्षको सुरुमा भएको प्रधानमन्त्री कप क्रिकेटमा टोलीलाई शीर्ष चारमा पुर्याउन अनिलले महत्वपुर्ण योगदान गरेका थिए । अनिलले ९ खेलमा १ शतक सहित ३ सय ८६ रन जोडेका थिए ।

मधेश क्रिकेट संघले शनिवार हरिशंकर शाहको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ । घोषित प्रारम्भिक टोलीमा शल्यक्रियाका कारण आराम गरिरहेका पवन सरार्फ समेत टोलीमा रहेका छैनन् ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुने जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ । जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।

सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय ढाँचा र फाइनल तीन दिवसीय रुपमा खेलाइने छ ।

मधेश प्रदेशको प्रारम्भिक टोली : हरि शंकर शाह(कप्तान), मयन यादव, अरनिको यादव, विशाल सुशलिङ, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, रोहन विक, राहुल मण्डल, शैलेन्द्र शाह, निरज कुमार यादव, राज पटेल, सफवान अलि, प्रथिभ यादव र कमल गुप्ता