जय ट्रफी भोलिदेखि : दीपेन्द्रसहित यी प्रमुख खेलाडीहरु देखिने छैनन्, को कुन टिमबाट खेल्दैछन् ?

Image

काठमाडौं । जय ट्रफीका पुरुष एलिट कप आइतबार (भोलि) देखि सुरु हुँदै छ । मधेश प्रदेशको राजधानी जनकपुर र वीरगन्जमा आइतबारदेखि सुरु हुने जय ट्रफी पुरुष एलिट कपमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ । जय ट्रफीको उद्‌घाटन खेलमा आइतबार (भोलि) मधेश प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । मधेश हरिशंकर साह र बागमती नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिनेछन् ।

मधेशको टिममा कप्तान हरिशंकरसहित अभिषेक तिवारी, रुपेश सिंह, मयन यादव, निरजकुमार यादव, साहिल पटेल, भुलवन सहनी, रञ्जित कुमार, विशाल पटेल र राजेश यादव छन् । यसैगरी, प्रदीप पासवान, अफ्रुद्दिन रायन, हिमान्सु दत्त, राहुल मण्डल र शैलेन्द्र साह पनि मधेशको टिममा छन् ।

बागमतीमा भने कप्तान लामिछानेसहित सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी छन् ।

तर, प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ओपनर ब्याटर अनिल साह भने देखिनेछैनन् । मधेश प्रदेशको प्रतिनिधित्व गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) का दौरानमा हातमा चोट बोकेकाले जय ट्रफी कप गुमाएका हुन् ।

६ पुसमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सलाई जिताएका अनिल चोटका कारण जय ट्रफी नखेल्ने भएका हुन् । अनिलले एनपीएलको दौरानमा हातमा चोट बोकेका थिए । हातमा चोट लागेपछि अनिलले एनपीएलको प्ले अफ र फाइनल खेल गुमाएका थिए ।

यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेलले जय ट्रफी पुरुष एलिट कपमा देखिने छैनन् । क्यानले जय ट्रफीमा सन् २०२४ को फेब्रुअरीमा काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमलाई मात्रै सहभागी गराउने निर्णय गरेकाले कप्तान पौडेलले प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।

तर, रोहित सम्मिलित विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब भने शीर्ष चारमा पर्न सकेन । त्यसैले एपीएफले जय ट्रफीमा सहभागिता जनाउने छैन । रोहितसँगै एपीएफबाट खेलेका लोकेश बम र सन्दीप जोरा पनि जय ट्रफीमा देखिने छैनन् ।

यसैगरी, नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि जय ट्रफी पुरुष एलिट कप खेल्ने छैनन् । विभागीय टिम नेपाल पुलिस क्लबका कप्तान ऐरी यूएईमा हुने अन्तर्राष्ट्रिय लिग टी-२० (आइएलटी) मा सहभागी हुने दुबई पुगेका छन् । गल्फ जायन्ट्सले ऐरीलाई अनुबन्ध गरेको छ । गल्फ जायन्ट्सबाट टी-२० आइएलटी खेल्न दुबई गएकाले दीपेन्द्रसिंहले जय ट्रफी गुमाउने भएका हुन् ।

दीपेन्द्रसिंहले जय ट्रफी गुमाउने भएपछि पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ । आरिफको कप्तानीमा घोषित टिममा आरिफको कप्तानीमा घोषित टिममा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ र दीलिप नाथ छन् । यसैगरी, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सेरला पनि टिममा परेका छन् ।

पुलिस क्लबले आइतबार नै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यस्तै, नेपाली राष्ट्रिय टिमका सदस्यहरू सोमपाल कामी, कुशल मल्ल र करण केसीले त्रिभुवन आर्मी क्लबबाट जय ट्रफी खेल्दैछन् । यसैगरि, आरिफ शेखले विभागीय टिम नेपाल पुलिसको कप्तानी गर्दै जय ट्रफी खेल्दै छन् ।

प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, बागमती र मधेश प्रदेशले शीर्ष चारमा स्थान सुरक्षित गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुरुष एलिट कप मधेश प्रदेशको राजधानी जनकपुर र वीरगन्जमा हुँदै छ । आइतबार (२१ पुस) देखि सुरु हुने प्रतियोगिता ३ माघसम्म चल्नेछ ।