इन्डो नेपाल पुरुष भलिबल: भारतीय क्लबलाई हराउँदै पुलिस फाइनलमा

Image

काठमाडौँ । विभागीय टिम नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा भारतीय क्लब गुजरात स्टेट भलिबल एसोसिएसनलाई ३-१ को सेटमा पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गर्ने क्रममा पुलिस क्लबले गुजरात स्टेटमाथि पुनरागमन जित निकालेको हो ।

बुटवल उपमहानगरपालिका-१० स्थित रामनगर खेल मैदानमा भएको खेलमा पहिलो सेट गुजरात स्टेटले २८-२६ ले जितेको थियो । तर, त्यसपछिका तीन सेटमा जित निकाल्दै पुलिस क्लब फाइनल पुगेको हो ।

दोस्रो सेट २५-१४ ले जितेको पुलिस क्लबले तेस्रो सेट २५-२१ र चौथो तथा निर्णायक सेटमा २७-२५ को जित हात पारेको थियो । पुलिस समूह ‘ए’ को विजेता र गुजरात समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

विभागीय टिम पुलिस क्लबले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मौसमका कारण आर्मी र मणिमुकुन्द क्लबबीचको खेल बुधबारका लागि सारिएको छ ।