त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बुटवल उपमहानगरपालिका-१० स्थित रामनगर खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५-१८ ले जितेको आर्मीले दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-१९ ले जितेको थियो । मंगलबारका लागि तय भएको खेल शीतलहरका कारण बुधबार बिहानका लागि सारिएको थियो ।
बिहान ११ बजे खेल हुने भनिए पनि खराब मौसमका कारण खेल दिउँसो २ बजेबाट मात्रै सुरु भएको थियो । त्रिभुवन आर्मी समूह ‘बी’ को विजेता रूपमा र मणिमुकुन्द भलिबल क्लब समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेकको थियो ।
अब त्रिभुवन आर्मी क्लबले उपाधिका लागि विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । नेपाल पुलिस क्लब भारतीय टिम गुजरात स्टेट भलिबल एसोसिएसनमाथि ३-१ को पुनरागमन जित निकाल्दै फाइनल पुगेको थियो ।















