पिएनजीमाथि नेपालको ऐतिहासिक जित, यी खेलाडी बने जितको ‘नायक’

Image

काठमाडौं ।

त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाल १५ रनले विजयी भएको छ । पिएनजीविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । यसअघि नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पिएनजीलाई हराउन सकेको थिएन । यसअघि पिएनजीसँग नेपालले एक टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेको थियो । जसमा नेपाल ८ विकेटले पराजित एको थियो ।

सिरिजको पहिलो खेलमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो । उसका लागि नर्मन भानुआले ५२, सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा सियाकाले २१ र चाड सोपरले अविजित १३ रन बनाए । बलिङमा सन्दीप लामिछाने, करण केसीले तीन/तीन, अविनाश बोहराले दुइ र सोमपाल कामीले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि आसिफ शेखले ४३, रोहितकुमार पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४ र कुशल मल्लले ११ रन बनाए ।

लोकेश बम (५), दीपेन्द्रसिंह ऐरी (४) र सोमपाल कामी (१) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पिएनजीका चार्ल्स अमिनी, अलि नाओ, चाड सोपरले दुई/दुई, रिली हेकुरे र नर्मन भानुआले एक/एक विकेट लिए । नेपालले सिरिजअन्तर्गत दोस्रो खेल बुधबार मेलेसियाविरुद्ध खेल्नेछ ।