काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) ले तेस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकाताले तेस्रो जित हात पारेको हो ।
आफ्नो चौथो खेलमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकाताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि प्याट कमिन्सले उत्कृष्ट प्रदर्शन गरे । उनले १६ बलमा ६ छक्का र चार चौकासहित अविजित ५६ रन बनाए । कमिन्सले १४ बलमै अर्धशतक पूरा गरेका थिए ।
योसँगै उनले केएल राहुलको कीर्तिमान बराबर गरेका छन् । राहुलले २०१८ को सिजनमा पञ्जाबाट खेल्दै दिल्लीविरुद्ध १४ बलमा अर्धशतक बनाएका थिए । अब उनको रेकर्ड कमिन्सले बराबर गरेका छन् । केकेआरका लागि सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड भने अब कमन्सिको नाममा रह्यो ।
त्यस्तै, वैंकटेश अय्यरले ४१ बलमा ६ चौका र एक छक्काको सहयोगमा अविजित ५० रनको योगदान दिए । साम बिलिङ्स १७, आन्द्रे रसेल ११, कप्तान श्रेयस अय्यर १०, नितिश राणा आठ र अजिंक्य रहाणे सात रनमा आउट भए । मुम्बईका लागि मुर्गन आश्विन, ट्यामल मिल्सले दुई/दुई र डानियल साम्सले एक विकेट लिए ।
त्यसअघि, पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनायो । उसका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५२ रन बनाए ।
कस्तो रह्यो ‘बेबी एबी’ को डेब्यू म्याच?
‘बेबी एबी डिभिलियर्स’को नामले चर्चित डेवाल्ड ब्रेभिसले पहिलो खेलमै प्रभावित पार्ने पारी खेले । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले आक्रामक तरिकाले सुरुवात गरे । डेवाल्डले दोस्रो बलको सामना गर्दै ३.१ ओभरमा बुधबार नै डेब्यू गरेका रसिक सलामको बलमा चौका हिर्काए ।
उनले ३.४ ओभरमा लयमा देखिएका उमेश यादवको बलमा उत्कृष्ट चौका प्रहार गरे । डेवाल्डले ५.६ ओभरमा विश्वचर्चित बलर प्याट कमिन्सपविरुद्ध शानदार छक्का हिर्काए । त्यस्तै, उनले ७.१ ओभरमा वरुण चक्रवर्तीको बलमा छक्का हिर्काउँदै समर्थकमा उत्साह थपे । तर, डेवाल्ड यही ओभरमा साम बिलिङसबाट पाँचौं बलमा स्टम्पिङ आउट भए ।
शर्मा फेल, वर्मा पास !
केकेआरविरुद्धको खेलमा पनि कप्तान रोहित शर्माले निराश बनाए । ‘हिटम्यान’को परिचय बनाएका उनी तेस्रो खेलमा भने फिट भएनन् । रोहितले १२ बलको सामना गर्दा ३ रन मात्र जोड्न सके । उनी अघिल्लो दुई खेलमा क्रमशः ४१ र १० रनमा आउट भएका थिए ।
युवा ब्याटर तिलक वर्माले भने केकेआरविरुद्ध पनि राम्रो पारी खेले । उनले केकेआरविरुद्ध २७ बलमा तीन चौका र दुई छक्कासहित नटआउट ३८ रनको योगदान दिए । तिलकले पहिलोमा २२ र दोस्रो खेलमा ३३ बलमा ६१ रनको आक्रामक पारी खेलेका थिए ।
इशान पनि फेल
केकेआरका बलरसामु युवा आक्रामक ब्याटर इशान किशन पनि पास हुन सकेनन् । उनले २१ बलमा एक चौकाको सहयोगमा केवल १४ रन मात्र जोड्न सके । इशानले अघिल्लो खेलमा दिल्लीविरुद्ध अविजित ८१ र राजस्थानविरुद्ध ५४ रन बनाएका थिए ।
पोलार्डको उत्कृष्ट फिनिसिङ
विश्व क्रिकेटका आक्रामक ब्याटर किरण पोलार्डले केकेआरविरुद्ध भने आफ्नो पावर देखाए । अघिल्लो खेलमा निकै निराश बनाएका उनले तेस्रो खेलमा ५ बलमा ३ छक्कासहित अविजित २२ रनको आक्रामक पारी खेले । पोलार्डले अन्तिम ओभरमा प्याट कमिन्सको बलमा ३ छक्कासहित २३ रन जोडे । अघिल्लो दुई खेलमा उनी क्रमशः ३ र २२ रनमा आउट भएका थिए ।
शीर्षमा उक्लियो केकेआर
मुम्बईलाई हराएसँगै केकेआर शीर्ष स्थानमा उक्लिएको छ । उसले चारमध्ये एक खेलमा मात्र हार बेहोरेको छ । केकेआरले ६ अंक जोडिसकेको छ । मुम्बई भने तालिकाको नवौं स्थानमा छ । उसले तीन खेलमै हारको सामना गरेको छ । त्यस्तै, अंक तालिकाको दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौँ, सातौँ, आठौँ र दशौँ स्थानमा क्रमशः राजस्थान, गुजरात, पञ्जाब, लखनउ, बैंग्लोर, दिल्ली, चेन्नई र हैदराबाद रहेका छन् ।